Aamsanchar

पहिलो बच्चा जन्माउने आमालाई १००००

Author Image
मङ्गलवार, माघ २३, २०७४

[दिपेन लावती]
शान्तिनगर।

झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी गृह (बर्थिङ सेन्टर) सञ्चालनमा आएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले उक्त सुत्केरी गृहको उद्घाटन गरेका थिए । दुई शैय्याको बर्थिङ सेन्टरमा अब चौबिसै घण्टा सुरक्षित प्रसुति सेवा सञ्चालन हुनेछ । सो कार्यक्रममा बोल्दै अध्यक्ष भुजेलले गाउँमा बर्थिङ सेन्टरको स्थापनाले गर्भवती महिलाहरुले सुरक्षित सुत्केरी सेवा लिँदा आमा र बच्चाको स्वास्थ्यमा राम्रो हुने र अन्य खतराबाट पनि मुक्त हुने बताए । उनले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले ठूलो बजेट छुट्याएको भन्दै स्वास्थ जस्तो सम्वेदनशील बिषयमा हेलचेक्र्याई गर्न नहुने बताए ।

उनले बर्थिङ सेन्टरमा पहिलोपटक बच्चा जन्माउने आमालाई प्रोत्साहन स्वरुप गाउँपालिकाले नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा समेत गरे । उनले भने– ‘बर्थिङ सेन्टरमा आवश्यक औजार उपकरण उपलब्ध गराउन गाउँपालिकाले सक्दो सहयोग गर्छ । भिडियो एक्स–रे मेसिन र अन्य उपकरण चाँडै उपलब्ध गराउने छौं ।’ त्यस्तै, दोस्रो र तेस्रोपटक बर्थिङ सेन्टरबाटै बच्चा जन्माउने आमालाई सिएमए संघ झापाका निर्वतमान अध्यक्ष दानबहादुर क्षेष्ठले नगद ५÷५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै, बुद्धशान्ति गाउँपालिका स्वास्थ शाखा उपप्रमुख दीपक सापकोटाले गाउँमै प्रसुति सेवा उपलब्ध भएपछि यहाँका गर्भवती महिलाले बच्चा जन्माउन टाढा र ठूला अस्पताल धाउनु नपर्ने बताए । उनले भने– ‘सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए पाँच सय रुपैयाँ दिने गरेको छ । तर, शान्तिनगर स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा नर्मल बच्चा जन्माउने महिलालाई सरकारले दिने पाँच सयसहित गाउँपालिकाले १५ सय थपेर दुई हजार उपलब्ध गराउने छ ।

सात कट्ठा जमिनमा आर्थिक वर्ष २०७१÷०७२ अन्तर्गत नेपाल सरकार स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखाबाट एक करोड ६६ लाख बजेट छुट्टिएपछि ‘साहारा सृष्टि कम्पनी’ले डेढ बर्षमै भवन सम्पन्न गरी गत जेठमा सुबिधासम्पन्न भवन हस्तान्तरण गरेको थियो । हाल ६६ लाखको लागतमा अनमी क्वाटरको निर्माण अन्तिम चरणमा पुगेको स्वास्थ्यचौकीका प्रमुख मेनुका दाहालले बताइन् । हाल उक्त स्वास्थ्यचौकीमा १२ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

शान्तिनगर स्वास्थ्यचौकीका अध्यक्ष तथा वडा नम्बर–५ का वडाध्यक्ष बासुदेब खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेल, वडा नम्बर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान जबेगू (लिम्बू) लगायतको आतिथ्य रहेको थियो ।
शान्तिनगर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि साविकको शान्तिगर र रोङ्ग गाउँपालिका–५ का गर्भवती महिलाहरु लाभान्वित हुनेछन् ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले वडा नम्बर–६ मा रहेको सामुदायिक स्वास्थ्य इकाइको समेत उद्घाटन गरेका थिए । स्थानीय पुण्यप्रसाद भट्टराईले करिब १६ लाख बराबरको चार कट्ठा जमिन उपलब्ध गराएपछि भवन बनाउने तयारी गरिएको बताइएको छ । हाल भाडामा उक्त सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर