Aamsanchar

७२ वर्षमा नागरिकता !

Author Image
मङ्गलवार, माघ २३, २०७४

दमक।

सामान्य अवस्थामा १६ बर्ष पूरा भएपछि नेपालको नागरिकता पाइन्छ । तर, झापाको दमकमा भने ७२ बर्षको उमेरमा एक महिलाले नागरिकता प्राप्त गरेकी छिन् ।लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहल तथा दमक नगरपालिकाको सक्रियतामा एकल महिला ७२ बर्षीया सुकमाया तामाङलाई नागरिकता दिलाइएको छ ।

दमक–४ मा रहेको रत्नबृद्धाश्रममा लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम, तृतीय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी बुद्धिशेखर भट्टराई, तिर्थनारायण श्रेष्ठ, सवाल नेपालका सम्पादक विष्णुप्रसाद पोखरेलसहितको टोली खाद्य सामग्री एवम् राहत प्रदान गर्न जानेक्रममा ७२ बर्षीया तामाङले नागरिकता नभएको भन्दै रोएपछि उनलाई नागरिकता दिलाउन पहल गरेको सवाल नेपालका सम्पादक पोखरेलले जानकारी दिए ।

आफूले पाउने सामाजिक सुरक्षा भत्ता पाउन वञ्चित रहेको भन्दै तामाङ भक्कानिएपछि नागरिकता दिलाउनका लागि प्रयास शुरु भएको उनले बताए । अध्यक्ष गौतम र नगरपालिकाका इञ्जिनियर समेत रहेका लायन्सकर्मी श्रेष्ठले आफूहरुले नागरिकता दिलाउन पहल गर्ने भन्दै आश्वासन दिएका थिए ।
लायन्स क्लव र सवाल नेपालले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल लगायतलाई जानकारी गराए लगत्तै नगरपालिकाले नागरिकता दिलाउन नगरपालिकाले सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको थियो ।

उपप्रमुख अधिकारीले तत्कालै आवश्यक कागजपत्र जुटाउन नगरपालिकाको सम्बन्धित फाँटमा निर्देशन दिएर नागरिकता दिलाउनका लागि प्रयास शुरु गरेकी थिइन् । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नागरिकता दिलाए सामाजिक सुरक्षाभत्ता बृद्धाश्रममा नै पुर्याउने ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।
नगरपालिका उपप्रमुख अधिकारी, लायन्सकर्मीहरु रोहवर र सनाखतमा बसेर तामाङलाई नागरिकता दिलाइ दिएका हुन् । जनप्रतिनिधि मीना विश्वकर्मा, लायन्सकर्मीहरु मनोज अग्रवाल, बुद्धिशेखर भट्टराई, नगरपालिकाका कर्मचारी दलबहादुर खत्री, बृद्धाश्रममा रेखदेख गर्दै आएकी रीता सुनुवार लगायत इलाका प्रशासन कार्यालय गएर आफूहरु रोहवरमा बस्न तयार रहेका बताए थिए ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले यस्ता नागरिकलाई नागरिकता दिन अत्यन्न असहज र अप्ठ्यारो रहेको बताएका थिए । उनले कानूनमा यस्तो बिषयमा केही व्यवस्था नरहेको बताउँदै स्थानीय सरकारले आवश्यक कागजपत्र बनाउन सहयोग गरेर र जनप्रतिनिधि तथा समाजका व्यक्तिहरु आएर एक बेसाहारा नागरिकको पक्षमा उभिएको भन्दै आभार प्रकट गरे ।

नगरपालिका उपमेयर अधिकारीले एक बृद्धाआमाले नागरिकता लिँदा गहभरी हर्षका आँशु झार्दा आफू पनि गम्भीर भएको बताइन् । केही दिनअघि नगरपालिका आएर रुँदै नागरिकता नभएको सुनाउँदा आफूलाई धेरै नराम्रो लागेको स्मरण गर्दै अहिले उनले नागरिकता लिँदा आफूलाई राम्रो काम गरेको अनुभूत भएको उनले बताइन् ।

क्लवका अध्यक्ष गौतमले दुई हप्ताको पहलमा एक बृद्धा आमालाई नागरिकता दिलाउन पाउँदा खुशी मिलेको बताए । नगरपालिकाकी उपप्रमुख अधिकारी, इलाका प्रशासन कार्यालय दमकका प्रमुख श्रेष्ठ, कर्मचारी जीवराज भट्टराई लगायत नागरिकता दिलाउनका लागि प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबैप्रति गौतमले आभार प्रकट गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर