(नरेन्द्र ढकाल)
बिर्तामोड।
परनिर्भरता हटाएर आत्मनिर्भरताको जतिसुकै रटान लगाए पनि देशको परनिर्भरता झनै बढ्दै गएको पाइएको छ । पूर्वी नाका काँकरभिट्टाबाट वर्षेनि पेट्रोलियम पदार्थको आयात बढ्दै गएसँगै परनिर्भरता झनै बढेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
वर्षेनि सवारी साधनको संख्या बढेसँगै पेट्रोलियम पदार्थ माथिको परनिर्भरता बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७३÷०७४ मा एक करोड ५७ लाख ८३ हजार ३ सय २८.९ किलो लिटर पेट्रोलियम पदार्थ आयात हँुदा ६ अर्ब १० करोड ६७ लाख १३ हजार ३ सय ९ रुपैयाँ खर्च भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त परिमाणमा पेट्रोलियम पदार्थ आयात हुँदा दुई अर्ब ४२ करोड ७ लाख ८७ हजार ५ सय ९३ रुपैयाँ राजश्व संकलन भएको मेची भन्सार कार्यालयका तथ्याङ्क शाखाका किरण अर्यालले जानकारी दिए ।
एक वर्षको अवधिमा ३३ हजार ८३ किलो लिटर डिजेल आयात हँुदा ६३ हजार ९ सय ३२ किलो लिटर पेट्रोल आयात भएको छ । सोही अवधिमा ४ हजार २० किलो लिटर मट्टितेल, ५ हजार ९ सय २० किलो लिटर हवाई इन्धन र एक करोड ५६ लाख ७६ हजार ३ सय ७३.९ किलो ग्राम ग्यास आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
पूर्वी नाका प्रयोग गरेर इन्धनको आयात झनै बढेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर आर्यालले बताए । वर्षेनि सवारी साधनको संख्या बढ्दै गएकाले पनि पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको भन्सार प्रमुख अधिकृत अर्यालले बताए । मेची भन्सार प्रयोग गरेर चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात झनै बढेको तथ्याङ्कले देखाएको छ ।
चालू आर्थिक वर्ष २०७४÷०७५ को माघ १० गतेसम्मको तथ्याङ्क अनुसार १९ हजार ९ सय ७६ किलो लिटर डिजेल, ३४ हजार ३ सय ६९ किलो लिटर पेट्रोल, ८ हजार ८ सय किलोलिटर हवाई इन्धन, दुई हजार ३ सय ४८ किलोलिटर मट्टीतेल र ८२ लाख एक हजार एक सय ४९ किलो ग्राम ग्यास आयात भएको छ ।
गत वर्ष सोही अवधिमा १३ हजार ७ सय २० किलोलिटर डिजेल, २५ हजार ७ सय ८४ किलोलिटर पेट्रोल, दुई हजार दुई सय ८० किलोलिटर हवाई इन्धन, एक हजार ७ सय ५२ किलोलिटर मट्टितेल आयात हँुदा ६३ लाख ८५ हजार ३ सय २८.८ किलो ग्राम ग्यास आयात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको माघ १० गतेसम्मको अवधिमा पेट्रोलियम पदार्थ आयात गर्दा ४ अर्ब ७ करोड २२ लाख ९५ हजार ६६ रुपैयाँ लागेको भन्सार कार्यालयका तथ्याङ्क शाखाका आर्यालले जानकारी दिए । उनका अनुसार उक्त परिमाणमा पेट्रोलियम पदार्थ भित्रिँदा एक अर्ब ५१ करोड ६९ लाख ४९ हजार ४ सय ३४ रुपैयाँ राजश्व संकलन भएको छ । गत वर्ष उक्त अवधिमा ९७ करोड ७८ लाख ५३ हजार ७१ रुपैयाँ राजश्व संकलन भएको अर्यालले जानकारी दिए ।
पूर्वी नाका काँकरभिट्टा हँुदै नेपाल ल्याइएको इन्धन मेची अञ्चलका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा खपत हुने गरेको छ । मेची अञ्चलमा वार्षिक रुपमा १६ हजार भन्दाबढी नयाँ सवारी साधन थपिने गरेको मेची यातायात व्यवस्था कार्यालयका प्रमुख टंक कार्कीले जानकारी दिए । हाल एक लाख १५ हजार सवारी मेची अञ्चलमा दर्ता भएर सञ्चालनमा रहेको कार्कीको भनाइ छ ।
भारतले २०७२ सालमा लगाएको नाकाबन्दीका समयमा ात्मनिर्भरताको नाराले प्राथमिकता पाए पनि व्यवहारमा भने अझै यस्तो देखिएको छैन । सौखिन जीवन शैलीका कारण मानिसले सहज रुपमा हिँडेर पुग्ने अवस्थामा पनि सवारी साधनको प्रयोग गर्ने गरेको कारण वर्षेनि सवारी साधनको संख्या बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
वि.सं. २०२८ सालमा पूर्वपश्चिम राजमार्ग निर्माण भए पनि त्यस यता सडकको स्तरोन्नति नहँुदा सवारीका संख्या बढेसँगै सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तार नहुनु तथा सवारी साधन दिनप्रतिदिन बढ्दै जानुले दुर्घटनाको जोखिम बढाएको प्रहरीको भनाइ छ ।
पेट्रोलियम पदार्थको परनिर्भरता नहटाए नेपालले ठूलो रकम गुमाउनुपर्ने अर्थविद्हरुले चेतावनी दिएका छन् । नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने अथवा नेपालमा नै इन्धनको खानीको अन्वेषण गर्न जरुरी रहेको अर्थविद्हरुको भनाइ छ ।
यसैबीच चालूआर्थिक बर्षको ६ महिनामा मुलुकको व्यापारघाटा झण्डै ५ खर्ब पुगेको छ । पेट्रोलियम र मेसिनरी आयातसँगै खाद्यान्न समेत आयात गर्नुपर्ने भएपछि व्यापार घाटा चुलिएको हो । साउन यता व्यापार घाटा ४ खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख ९० हजार पुगेको भन्सार विभागले जनाएको छ । यो गत बर्षको भन्दा १५ दशमलव ५२ प्रतिशतले बढी हो । गतबर्ष सोही अवधिमा ४ खर्ब २७ अर्ब ५३ करोड ७ लाख ४९ हजार रुपैयाँ व्यापार घाटा थियो ।
मुलुकको सबै भन्दा बढी व्यापारघाटा भारतसँग ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख ९० हजार रहेको छ । यस्तै चीनसँग ६७ अर्ब ८८ करोड ४० लाख ६१ हजार रहेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । आयातको तुलनामा निर्यात निकै कम भएपछि व्यापारघाटा प्रत्येक वर्ष बढ्दो क्रममा छ । ६ महिनाको अवधिमा ५ खर्ब ३५ अर्ब ५ करोड ५१ लाख ९८ हजार रुपैयाँका सामग्रीहरू आयात हुँदा निर्यात भने ४१ अर्ब १६ करोड ७० लाख ७ हजार रुपैयाँको मात्रै भएको छ । स्वदेशी उत्पादन वृद्धि हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र परनिर्भरता बढ्दै जाँदा बर्षेनि व्यापार घाटा बढ्दै गएको हो ।