झापा।

झापाको सीमावर्ती बजारमा भारतीय चिठ्ठा (लट्री) बेचबिखन गर्ने कारोबारी बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगला डागुजोत निवासी २० वर्षीय मोहमद जिलालीलाई रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।

नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठाको कारोबार गर्ने जिलालीलाई प्रहरीले भद्रपुर– ५ स्थित नयाँ बजार नाकाबाट पक्राउ गरेको प्रहरी निरीक्षक जबेगूले बताए । प्रहरीले उनको साथबाट भारतको सिक्किम र नागालेण्ड कम्पनी उल्लेख भएको १० देखि एक सय सिरीज सम्मका ८१ ठेली चिठ्ठा बरामद गरेको छ । जसको नेपाली बजार मूल्य १७ हजार आठ सय ५० रुपैयाँँ पर्छ । पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको प्रहरी निरीक्षक जबेगूले बताए ।

बिहार राज्यमा समेत प्रतिबन्ध लगाएको भारतीय चिठ्ठा कारोबारीले विहार तथा बंगाल नाकाबाट नेपाल भित्र्याउँदै आएका छन् । ‘सीमावर्ती बजार क्षेत्रमा भारतीय चिठ्ठाको बिगबिगी बढ्न थालेको जनगुनासो आएपछि यसको रोकथामका लागि प्रहरीले अभियान चलाएको छ’ –प्रहरी निरीक्षक जबेगूले भने । भारतको पश्चिम बंगाल, सिक्किम, नागालैण्डमा चिठ्ठा खुलेआम खेल्ने र खेलाइने गर्दै आएको छ । त्यसैको असर झापाका सीमावर्ती बजारमा देखापरेको छ । पछिल्लो समयमा भद्रपुर र काँकरभिट्टा नाकामा भारतीय चिठ्ठाले आतंक मच्चाएको छ । यसको लतमा लागेर नेपाली नागरिक घरवारविहीन तथा वेरोजगारी समेत हुन थालेको जनगुनासो छ ।
पछिल्लो समयमा भारतबाट दैनिक ज्याला मजदुरीको काम गर्न नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिठ्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिठ्ठा खेलाउने गर्दै आएको छ ।
यस्तो छ चिठ्ठा सम्बन्धी कानून
चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद–बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् ।
कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्रीवितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्रीवितरण गर्ने वा सो कामको लागि आफू साथ राख्ने, नेपाल सरकारले तोकिदिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्रीवितरणको लागि ल्याउने वा झिकाउने वा बिक्रीवितरण गर्ने वा त्यसरी ल्याई बिक्रीवितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्रीवितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ भन्ने चिठ्ठा ऐनमा प्रष्ट व्यवस्था छ ।

