(शान्तिराम बस्नेत)
शिवसताक्षी,
यौटै यो मुटुमाथि लाखौँ भयो चोट, कति प्रहार गर्छौ दैव के छ ममा खोट ?
यी माथिका हरफहरु झापा हल्दीबारी–५ अधिकारी चौककी कृष्णमाया खड्कामाथि मिल्न जान्छन् ।
उनका १ मात्र १३ वर्षे छोरा सरोज खड्का ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारको लागि रकम अभाव भएपछि हारगुहार गरेकी छिन् । बालक सरोजको अहिले चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
३ वर्षअघि मात्र बाबु गुमाएका सरोजलाई गत भाद्र महिनामा क्यान्सर भएको प्रमाणित भएपछि उनका आफन्तको सहयोगमा उपचार भइरहेको छ । कमाउने बाबुको अल्पआयु मै मृत्यु भएपछि आमा कृष्णमाया खड्काले जेनतेन छोरालाई बनिबुतो गर्दै नजिकैको न्यू स्टार इङ्गलिस स्कूलमा कक्षा ७ सम्म पढाउदैं थिइन् ।
तर पतिको सिन्दुरको चोटको पीडा भुल्न नसक्दै कृष्णमाया माथि अर्को ठूलो बज्रपात आइलागेको हो । आफ्ना ३ सन्तानहरुमध्ये भएको १ मात्र छोरो पनि प्राणघातक रोगसंग लड्नु पर्दा उनलाई दैवको चोट प्रहार भएको छ । गाउँको अति नै दुर्गम ठाँउमा खोलाकै बगर जस्तो स्थानमा बसेर जीविकोपार्जन गर्दै गरेका खड्काको पारिवारिक अवस्था समेत दयनीय छ ।
चिकित्सकहरूका अनुसार सरोजलाई ए एलए ल बी सी एल नामक ब्लड क्यान्सर भएको हो । उनको चौथो किमो उपचार पछि पहिलो मेनटेन्ट पनि सकिइसकेको छ । सरोजका उपचारका निम्ति हालसम्म ८ लाख बढी खर्च भइसकेको छ । तर उनलाई पूर्णरुपमा स्वास्थ्य बनाउन ३० लाख खर्च लाग्ने डाक्टरले भनेपछि आमा कृष्णमायालाई रातभरि निद्रा लाग्न छोडेको हो । कृष्णमाया गहभरि आँसु पार्दै भन्छिन् ः दुःखीलाई चोटमाथि चोट दैवले दिएका छन्, कमाउने श्रीमान पनि अघि लाग्नुभयो । यही छोराको अनुहार हेरेर जीवन बिताउने धोको छ, कृपया सबैले सहयोग गरिदिनु होला ।
शिवसताक्षी–दूधेको सृष्टि टोलमा रहेको मामाघर यामबहादुर कार्कीको घरमा उपचारपछिको आरामगर्न आइपुगेका सरोज निकै भावुक छन् । उनका गहभरी आँसु छछल्किरहेको प्रष्टै देखिन्छ । उनमा बाँच्ने रहर जागेको छ । त्यसैले उनी भन्छन् – मेरो जीवन तपाँईंहरुको हातमा छ, मलाई सहयोग गरेर स्वथ्य बनाइदिनुहोस् । संगैका दौंतरी साथीहरुसंग भेटेर पढ्ने, घुम्ने, खेल्ने ठूलो धोको छ ।
पिडितका आमा कृष्णमाया खड्कालाई ९८४२६२६६०२ र मामा यामबहादुर कार्कीलाई ९८१०१४४९४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । नेपाली कांग्रेस शिवसताक्षी ११ का सभापति अशोक बस्नेतले सरोजको जीवन रक्षाका लागि आफुले सकेको रकम सहयोग गरिदिन आग्रह गरेका छन् ।