झापा ।
भारतीय मालबाहक ट्रकहरुले नेपालको सीमाबाट १५ किलोमिटर भित्रसम्म मात्र पस्न पाउने कानुनी प्रावधान उल्लघङ्न गरेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ पुर्वाञ्चल क्षेत्रीय कार्यालयले आपत्ति जनाएको छ ।
भारतीय ट्रकको यो उल्लघङ्नलाई रोक्न माग गर्दै महासङ्घले पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई बिहिबार ज्ञापन बुझाएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार लम्साललाई महासङघका क्षेत्रीय उपाध्यक्ष विनोद खड्काको टोलीले ज्ञापनपत्र बुझाएको पूर्व नेपाल मेची ट्रक व्यवसायी सङ्घ झापाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिए ।
भारतबाट नेपालका लागि सामान लिएर आएका भारतीय नम्बर प्लेटका ट्रकहरुले भन्सार क्षेत्रबाट नेपालका औद्योगिक करिडोर क्षेत्रभित्रका १५ किलोमिटरसम्म मात्र ढुवानी गर्न पाउने सरकारी निर्णयलाई उल्लघन गरिरहेको महासंघको भनाई छ । गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गत कात्तिक २४ गते बसेको बैठकबाट भारतीय नम्बर प्लेटका ट्रकहरुले भन्सार क्षेत्रबाट नेपालका औद्योगिक करिडोर क्षेत्रभित्रका १५ किलोमिटरसम्म मात्र ढुवानी गर्न पाउने निर्णय भएको ज्ञापनपत्रमा उल्लेख छ । निर्णय कार्यन्वयनका लागि सम्बन्धीत निकायहरुमा पठाइ सकिएको भए पनि उक्त निर्णय लागु नभएको महासंघको भनाई छ ।
पूर्व क्षेत्रका भन्सार नाकाहरुबाट निर्वाध रुपमा नेपाल प्रवेश गरेका अत्याधिक मालबहाक भारतीय नम्बर प्लेटका ट्रकहरुले धरान, इलाम हेटौडा, नाराणघाटलगायतका स्थानसम्ममा सञ्चालन भइरहेको हँुदा महासङ्घले तत्काल ती ट्रकहरु रोक्न आग्रह गरेको छ । धेरै क्षमताका ट्रकहरुले जीर्ण बन्दै गएका पुल, सडकमा क्षति पुगेको, दुर्घटना बढेको र नेपाली ट्रकहरुले सामान ढुवानी गर्न नपाएर वेरोजगारी बढेको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त निर्णय कार्यान्वयन नभई भारतीय नम्बर प्लेटका ट्रकहरु निर्वाध सञ्चालन भइरहे आन्दोलन गर्ने चेतावनी पनि महासङघले दिएको छ । ‘यस अघि पनि झापा, सुनसरी र मोरङका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न भनसार, प्रहरी कार्यालयमा उक्त विषयमा पत्र पठाइएको झापा अध्यक्ष बुढाथोकीले बताए । उनले यो कार्यन्वयन नभए सडक आन्दोलना जाने समेत बताए ।