Aamsanchar

ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र बनाइने

Author Image
शनिवार, माघ २७, २०७४

भद्रपुर, 

भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् ।

जिल्ला समन्वय समित झापाद्वारा शुक्रबार गरिएको अनुगमनमा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको चौतर्फी विकास गर्न आफूलगायत सबै जनप्रतिनिधि लागिपरेको बताउँदै यसका लागि तत्काल गर्न सकिने र दीर्घकालीन महत्व राख्ने योजना तयार गरी विकासलाई गति दिने जानकारी दिनुभयो ।

उहाँले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र र संग्रहालय बनाइने, विषादीरहित तरकारी तथ कृषि प्रणालीलाई टेवा दिनेजस्ता कार्यक्रम राखिएको जानकारी दिनुभयो । अनुगमनमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला समन्वय अधिकारी खेमराज ओझासहितको टोली संलग्न थियो । नगरपालिकाका प्रशासकीय अधिकृत काजीमान राईले नगरपालिकाका योजना र कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।

सो अवसरमा संयोजक पोर्तेलले स्थानीय तह स्थानीय सरकार भएकाले यसबाट सम्पादन हुने कार्य जनमुखी, वैज्ञानिक र व्यावहारिक हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय अधिकारी ओझाले स्थानीय तहलाई जनताको इच्छा एवं चाहनाबमोजिम विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिनुभयो । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक चन्द्रा श्रेष्ठले आफूले न्याय सम्पादन गर्दा न्यायिक अधिकारीको कमी रहेको कारण यहाँ दर्ता हुने मुद्दा फछ्र्योट गर्न समस्या उत्पन्न भएको बताउनुभयो ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर