Aamsanchar

आदिवासी समुदायको शिक्षामा पहुँच बढ्दै

Author Image
शनिवार, माघ २७, २०७४

 झापा,

पूर्वश्रम तथा यातायात व्यवस्था सहायकमन्त्री टेकनारायण राजवंशी बाह्रदशी गाउँपालिका–१ भगुडुब्बा निवासी हुनुहुन्छ । उहाँ विसं २०६२ मा मन्त्री बन्नुभयो । उहाँले विसं २०२२ मा भद्रपुर ‘हाइस्कुल’बाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभएको थियो ।

एसएलसी परीक्षामा सामेल हुनेबित्तिकै राजवंशीलाई भागुडुब्बामा रहेको अमृत निमाविमा शिक्षकको जागिर खान आग्रह गरियो । झन एसएलसी परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गरेपछि उहाँको माग झापाका धेरै विद्यालयमा भयो । कतिपय विद्यालयका प्रधानाध्यापकले उहाँलाई शिक्षकमा नियुक्ति गर्न घरमै आएर अभिभावकलाई समेत आग्रह गरेको राजवंशीले अझै बिर्सनुभएको छैन ।

राजवंशीले विगत स्मरण गर्दै भन्नुभयो, “म मात्रै होइन राजगढका नन्दीकिशोर राजवंशीले विसं २०२० मा भद्रपुर ‘हाइस्कुल’बाट एसएलसी पास गर्दा घरमै जागिर दिन आउनेको लर्काे लागेको थियो ।”

राजवंशी समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा कमैले मात्रै त्यसबेला अध्ययन गर्ने गरेका थिए । राजवंशीले भन्नुभयो, “त्यसबेला जताततै विद्यालय थिएनन्, चेतनास्तर कम भएका कारण सबैले छोराछोरीलाई पढाउँदैनथे, त्यसमा पनि राजवंशीले त झनै छोराछोरीलाई स्कुल नै पठाउन्न्थे ।”

घरमै आएर दिएको जागिर नखाएर राजवंशीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभयो । स्नातकोत्तरपछि राजगढमा आफैँ क्याम्पस सञ्चालन गर्नुभएका राजवंशी मन्त्री बनेपछि लोकप्रिय हुनुभयो । ग्रामीण क्षेत्रका सर्वसाधारणमा चेतनास्तरको वृद्धिसँगै आदिवासी जनजाति समुदायको पनि शिक्षामा पहँुच पुगेको छ । दुई वर्षअघि साक्षर जिल्ला घोषणा भएको झापामा अहिले झण्डै पाँच लाख बालबालिका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरिरहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

समाजशात्रमा स्नातकोत्तर गर्नुभएका तत्कालीन राजगढ– ४ निवासी कमलप्रसाद राजवंशीले विसं २०५८ मा कृषि विकास बैंकमा जागिर शुरु गर्नुभयो । पशुपति मावि राजगढबाट १६७ जना एसएलसी परीक्षामा सहभागी हुँदा १३ जना मात्र उत्तीर्ण भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “हामीले पढ्दा पनि यस क्षेत्रबाट एसएलसी थोरैले मात्र पास गर्थे, झन त्यहाँभन्दा अगाडिको अवस्था भनिसाध्य छैन ।” राजवंशीले विसं २०५१ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

आदिवासी समुदायमा चेतनास्तर कम हुनु, अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावनाको विकास नहुनुले अझै पनि धेरै बालबालिका शिक्षाको पहुँच बाहिरै छन् । राजवंशीले भन्नुभयो, “शिक्षित परिवारमा हुर्किएको मलाई पनि त्यो बेला पढ्न सहज थिएन, विद्यालय जाँदा सबैले गिज्याउथे, साथीभाइको लहैलहैमा लागेको भए आज म यहाँसम्म आइपुग्ने थिइन् ।”

राजवंशी अहिले कृषि विकास बैंक लिमिटेड बिर्तामोड शाखाको शाखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ । उहाँ मात्रै होइन बाह्रदशी गाउँपालिका–३ राजगढका वीरेन्द्रप्रसाद राजवंशी अहिले आफ्नै वडाको अध्यक्ष हुनुहुन्छ । विसं २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्नुभएका उहाँ विसं २०५१ देखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न हुनुभयो । त्यसको केही समयपछि उहाँ तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिनुभयो ।

नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उहाँले पूर्वराजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव पनि लिनुभयो । विसं २०५५ मा सूर्यविनायकमा उहाँको सरुवा भएपछि दरबारबाट बाहिरिनुभएका राजवंशीले त्यसपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गर्नुभयो । नेपाली सेनाको जागिर त्यागेपछि गाउँ फर्किनुभएका राजवंशीले ‘राजवंशी शब्दकोष भण्डार’ तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम गर्नुभयोे ।

राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उहाँ त्यस क्षेत्रमा मात्र नभई जिल्लामै चर्चित हुनुहुन्छ ।

वीरेन्द्रजस्तै बाह्रदशी– १ भागुडुब्बाका शम्भुसिंह राजवंशी आफ्नै वडाको अध्यक्ष हुनुहुन्छ । स्नातकसम्मको अध्ययन गर्नुभएका उहाँले विसं २०६१ मा एसएएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । उहाँले योसँगै कम्प्युटरमा एमसिएसइ (माइक्रोसफ्ट सटिफाइट सिस्टम इञ्जिनियर) पनि गर्नुभएको छ । उहाँले भारतको दिल्लीस्थित हाइटेकबाट एमसिएसइ गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)