Aamsanchar

कञ्चनजंघाको दशक महोत्सव

Author Image
आइतवार, माघ २८, २०७४

विर्तामोड।

झापाको बिर्तामोड–४, कञ्चनजंघा टोलस्थित कञ्चनजंघा बोर्डिङ स्कूलले दशक महोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने जनप्रतिनिधिहरुमा झापा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, क्षेत्र नं. ३का राजेन्द्र लिङ्देन र बिमला विक, राष्ट्रियसभा सदस्यहरु हरिचरण शिवाकोटी र सरिता प्रसाईं, प्रदेशसभा सांसदहरु एकराज कार्की, तेजमान कन्दङ्वा, श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, बृर्ख प्रधान, बसन्त बानियाँ, पूर्णसिंह राजवंशी, हिरा थापा, जसमाया गजमेर र झलकसिंह दर्लामीलाई सम्मान गरिएको थियो ।

त्यस्तै शिक्षासेवीहरु मोहन ओली, डम्बरबहादुर बस्नेत, हरिनारायण भट्टराई, देवेन्द्र गौतम र इन्द्र मुखियालाई सम्मान गरिएको थियो भने ज्येष्ठ नागरिकहरु हरिप्रसाद संग्रौला, नन्दलाल न्यौपाने, पुण्यप्रसाद ओली र चन्द्रमाया खरेल र सामाजिक क्षेत्रमा क्रियाशिल महिला बालादेवी खरेललाई समेत सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गरामनीस्थित दुर्गा मावि, महेन्द्र ज्योति मावि सैनिक बजार, पञ्चरत्न मावि चैतुवारी, साङ्गवेद संस्कृत मावि चारपानेलाई प्रति विद्यालय २÷२ थान ब्राण्डेड कम्प्युटर प्रदान गरेको विद्यालयका प्राचार्य गुरुभक्त न्यौपानेले जानकारी दिए । सो अवसरमा विद्यार्थीहरुले एकजाति एक नृत्यका रुपमा १० वटा जातिका सांस्कृतिक झाँकी झल्कने नृत्य प्रस्तुत गरेका थिए भने योग मार्सल आर्ट लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सोही कार्यक्रमकाबीच रक्तदान कार्यक्रम समेत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खरेल, तेजमान कन्दङ्वा, एकराज कार्कीले बोलेका थिए । कार्यक्रममा अनन्त राजवंशीले स्वागत गरेका थिए ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर