मेचीनगर ।
अरुणोदय आवासीय माध्यमिक विद्यालयमा फागुन १ र २ गते मेचीनगर स्तरीय प्रथम अन्तर विद्यालय छात्र भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।विद्यालयका अध्यक्ष भगिरथ राईका स्वर्गवासी पिता निर्मल राईको स्मृतिमा विद्यालयले सो प्रतियोगिताको आयोजना गर्ने आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रतियोगितमा मेचीनगरका १५ विद्यालयको टिम सहभागी बन्ने र प्रथम हुने टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुइँटेलले जानकारी दिएका छन् ।
प्रिन्सिपल लुइँटेलका अनुसार प्रतियोगितामा दोस्रो हुने टिमलाई नगद ६ हजार र उत्कृष्ट हुने खेलाडीलाई २ हजार नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।
फागुन १ गते उद्घाटन र २ गते प्रतियोगिताको फाइनल खेल हुने बताउँदै विद्यालयका सहायक प्रिन्सिपल जीआर धितालले मेचीनगरका शिक्षा अधिकारी उद्धव विष्ट उद्घाटन समारोहको प्रमुख अतिथि रहने जानकारी दिए ।
निर्मल राई स्मृति भलिवल प्रतियोगितालाई आगामी बर्षहरुमा निरन्तरता दिनका लागि २ लाख रुपैयाँको अक्षय कोष खडा गरिने र रनिङ शिल्डको व्यवस्थापन गरिने विद्यालयका अध्यक्ष भगिरथ राईले बताए ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल लुइँटेल, अध्यक्ष राई, सहायक प्रिन्सिपल धिताल, निर्देशक रीता थापा र पत्रकार मोहन काजीले मन्तब्य राखेका थिए ।