Aamsanchar

बडाखालमा जिल्ला स्तरीय फुटबल सुरु

Author Image
आइतवार, माघ २८, २०७४

बाहुनडाँगी ।

नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालेको आयोजनामा आइतवारदेखि जिल्ला स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

क्लब २५ वर्ष पुगेको अवसरमा आयोजित प्रतियोगितको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हर्कबहादुर बस्नेतले उद्घाटन गरेका थिए । क्लबका संस्थापक अध्यक्ष समेत रहेका बस्नेतले खेलकुदको विकासका लागि मेचीनगरले विशेष प्राथमिकतामा राखेर योजना ल्याएको बताउँदै युवाहरुलाई खेलकुदमा लाग्न आग्रह गरे ।

उनले बडाखाल मैदानबाट बिशाल राई, प्रकाश थापा, महेश थापा, धनबहादुर मेचे, बुद्धलाल मेचे, सञ्जय थापा, लोकबहादुर बस्नेतजस्ता खेलाडीहरु उत्पादन भएको बताउँदै पछिल्लो समय फुटबल क्षेत्रमा खेलाडीहरुको भविष्य बन्दै गएकोले त्यसतर्फ लाग्न आग्रह गरे । त्यसका लागि नगरपालिकाले विषेश साथ र सहयोग गर्ने बस्नेतले बताए ।

उद्घाटन खेलमा आयोजक नव ज्योति युवा क्लब विजयी भएको छ । इलाम फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै आयोजक सेमीफाइनलमा प्रवेश गरेको हो ।

खेलको २० औँ मिनेटमा इलामले गोल गर्दै लिएको अग्रतालाई खेल सकिन ३ मिनेट रोक्न नसक्दा इलाम घर फर्कन बाध्य भएको थियो । आयोजकका गोलरक्षकले फल्ड गरेपछि इलामले पाएको पेनाल्टी सदुपयोग गर्दै १ गोलको अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा गोलरक्षक सनम धिमालले फल्ड गरेपछि इलामले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त अवसरमा आयोजकका मनोज सुब्बाको प्रहारलाई विपक्षी गोलरक्षक बालमिकी राईले बचाए । खेलको इन्जुरी समयमा आयोजकका प्रदीप राईले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित समयमा १÷१ को बराबरी भएपछि खेल टाइब्रेकरमा लगिएका आयोजकका सचिव सुमन थापाले बताए ।

टाइब्रेकरमा आयोजकका जनक धिमाल, सन्तोष दाहाल, सुमन राई, आषिश राईले गोल गरेका थिए । इलामका रुपेन तामाङ र सुभाष लिम्बूले गोल गरेका थिए भने भवेश लिम्बू र सनम लिम्बूको प्रहार बाहिर गएको थियो ।खेलको म्यान अफ द म्याच आषिश राई घोषित भए । उनलाई नव ज्योति निमावि प्रधानाध्यापक सोम आचार्यले नगद प्रदान गरेका थिए ।

सोमवारको खेल मुनाल क्लब चन्द्रगढी र धुलावारी फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष भवनाी गिरीले बताए । झापा र इलामका ८ वटा टिम सहभागि भएको प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार ट्रफी र प्रमाण पत्र पाउने छन् । उपविजेताले नगद ३१ हजार ट्रफी र प्रमाण पत्र पाउने आयोजक समितिका पूर्व अध्यक्ष राजकुमार रायाले बताए । प्रतियोगिताको विजेता र उपविजेताको ट्रफी काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले सौजन्य गरेको छन् । विभिन्न दाताहरुले खेललाई आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ ।

क्लबका अध्यक्ष भवानी गिरीको सभापतित्व तथा वडा अध्यक्ष हर्कबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु दीपक थापा, महेन्द्र लावती, प्रेम थापा, राजकुमार राया, वडा सदस्यहरु रीता थापा, चन्द्रकुमार बोहोरा, छोटबहादुर राई, खेलकुद विकास समितिका जिल्ला सदस्य अर्जुन कार्की, नव ज्योति निमाविका प्रधानाध्यापक सोम आचार्य, बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा, खेलका पूर्व संयोजक विकास लावतीलगायतको सहभागिता रहेको थियो ।

क्लबका सचिव सुमन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनराज भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर