झापा ।
एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्र गठबन्धनको बहुमत सरकारमा ओली दोस्रो पटक नयाँ जनादेशमा प्रधानमन्त्री बनेका हुन् ।
को हुन् ओली ?
मुलुकको ४१ औं प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं. २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, ओली । त्यही वर्ष उनी जेल परेका थिए ।
ओलीको पुख्र्यौली घर झापाको कन्काइ नदीको किनारमा थियो । ओली परिवारको झापामा सामान्य घर र एक विगाह जति जमीन थियो । जानकारहरुका अनुसार केपी करिव वर्षको भएका बेला कन्कार्इमा आएको बाढीले घर र जमीन सबै बगाइदिएपछि उनीहरुको परिवार सुकुम्वासी बनेको थियो । वाल्यकालमै ओलीले आमा गुमाएका थिए । ओली बुबाको काखमा हुर्किइरहेका थिए ।
झापाको पृथ्वीनगरमा केपीका पिताले सामान्य घर बनाएका थिए । केपीका पिताले अर्को विवाह गरेर पृथ्वीनगरमा अरुको जमीन जोत्ने कार्य गरेका थिए । अहिले पनि केपीका पिता, भाई झापाको पृथ्वीनगरमै बस्दै आएका छन् ।
रामनाथको घरमा काम गरेर एसएलसी पास
झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए । ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा उत्तिर्ण भए । टुहरो एवं सुकुम्वासी परिवारमा जन्मिएका कारण केपी ओलीको वाल्यकाल पीडादायी रहेको जानकारहरु बताउँछन् । कन्काइले घर बगाएपछि उनलाई बडाबा र हजुरआमाले पाले । त्यसपछि उनी रामनाथ दाहाल (झापा आन्दोलनका सहिद) का घरमा काम गर्दै विद्यालय जान थाले । रामनाथ दाहालकै घरबाट केपीले एसएलसी पास गरेका हुन् ।
रामनाथले केपीलाई दुख पाएको तर बाठो केटो भएकाले आफ्नो घरमा आश्रय दिएको र असाध्यै माया गर्ने गरेको पुराना एमाले नेताहरु स्मरण गर्छन् । झापा आन्दोलनका बेला ०२९ सालमा रामनाथ दाहाल अन्य तीनजना योद्धासँगै सुखानीको जंगलमा मारिएका थिए । ओली यतिबेला दोस्रोपटक प्रधानमन्त्री बने ।
ओलीको घरबार
केपी ओलीले पाटनकी राधिका शाक्यसँग विवाह गरे । पाटन दरबार छेऊमा सामान्य घर रहेको शाक्य परिवारमा केपीका ससुरा सामान्य सरकारी कर्मचारी थिए । केपी पत्नी राधिका पनि राष्ट्र बैंककी जागिरे हुन् । पञ्चायती व्यवस्थाको अन्त्यपछि ०४८ सालमा केपी ओली सांसद बने । दमक नगरपालिकामा ओलीको घर छ । ओलीका सन्तान छैनन् ।
राजनीतिक यात्रा
दोस्रोपटक प्रधानम्रन्त्री बनेका केपी ओली एमालेका पुराना नेतामध्ये पर्छन् । २०२३ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा १४ वर्ष जेल बसेका ओली पार्टी प्रमुख नहुँदा पनि सधैं चर्चाको केन्द्रमा रहँदै आएका थिए । माधवकुमार नेपाल झन्डै १५ वर्ष महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष छँदा, दुवैको कार्यकालमा ओली पार्टीभित्र शक्तिशाली नेताका रूपमा रहे ।
ओलीको सबैभन्दा ठूलो शक्ति उनको बोली र अडान हो । तीखो उखानटुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिका अन्य नेताको भन्दा फरक छ । राजनीतिक रूपमा आफ्ना अडानबाट हत्तपत्त पछि नहट्ने र स्पष्ट बोल्ने उनको शैली छ । जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया व्यक्त गर्ने शैलीका कारण उनी बेलाबेलामा आलोचनामा पनि पर्ने गरेका छन् । यति हुँदाहुँदै पनि पार्टीभित्र र बाहिर उनको लोकतान्त्रिक छवि छ ।
ओली माओवादीका खरो आलोचक थिए । उनले माओवादीसँग संघर्षको नीति राख्दै आएका थिए । माओवादी आन्दोलनको सुरुवातकालदेखि नै उनले त्यसको लगातार विरोध गरिरहे । पार्टीभित्र कतिपय नेता माओवादीसँग सहकार्यको नीति राख्नुपर्ने अडानमा रहँदा पनि ओलीले आफ्नो विचार छाडेका थिएनन् । तर ओली पार्टीको अध्यक्ष भएकै बेला माओवादी र एमाले एकीकरणको अन्तिम तयारीमा छ ।
संक्षिप्तमा ओली
जन्म : २००८ फागुन ११
पार्टीमा
२०२३ : राजनीतिमा प्रवेश
२०२७ : कम्युनिस्ट पार्टीको सदस्य र सोही वर्षदेखि भूमिगत
२०२७ : पञ्चायतकालमा पक्राउ
२०२९ : झापा आन्दोलन कमिटीको प्रमुख
२०३० : २०३० देखि २०४४ सम्म १४ वर्ष जेल
२०४८ : युवासंघको संस्थापक अध्यक्ष
२०४८ देखि निरन्तर पार्टीको स्थायी कमिटीको सदस्य
२०५० : दासढुंगा घटना छानबिन समिति प्रमुख
२०७० : माघमा एमाले संसदीय दलका नेता
२०७१ : एमाले अध्यक्ष
सरकार र संसद्मा
२०६४ : उपप्रधान एवं परराष्ट्रमन्त्री
२०५१ : गृहमन्त्री
२०४८, २०५१, २०५६ र २०७० : सांसद
२०७२ : प्रधानमन्त्री
२०७४ : दोस्रो पटक प्रधानमन्त्री
–ईपूर्वबाट