Aamsanchar

विकास रनिङ शिल्ड फागुन ८ गतेबाट

Author Image
शनिवार, फागुन ५, २०७४

चितवन,

विकास शिल्ड समिति चितवनले प्रत्येक वर्ष आयोजना गर्ने विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यस वर्ष फागुन ८ गतेबाट हुने भएको छ ।

समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन ८ देखि १९ गतेसम्म नारायणगढको क्याम्पाचौरमा खेल सञ्चालन हुने जानकारी दिएको हो ।

समितिका अध्यक्ष श्याम पियाले प्रतियोगितामा नेपाल र भारतका गरी १२ टोली सहभागी हुने जानकारी दिनुभयो । खेलमा एनएफसी चितवन, विएफसी चितवन, संकटा क्लब, मनाङ–मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, विजय क्लब हेटौँडा, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, फ्रेण्डस क्लब, सिक्किम ब्वाइज सिक्किम भारत र सुदूरपश्चिम क्लब धनगढी सहभागी हुनेछन् ।

विसं २०३१ देखि सञ्चालन हुँदै आएको प्रतियोगिताको यो तेह्रौं संस्करण हो । बीचका केही वर्षमा खेल सञ्चालन हुन नसके पनि गत वर्षदेखि पुनः खेललाई निरन्तरता दिइएको अध्यक्ष पियाले जानकारी दिनुभयो ।

खेलमा प्रथम हुनेले रु पाँच लाख र शिल्ड तथा द्वितीय हुनेले रु दुई लाख ५० हजार पुरस्कार पाउनेछन् भने ‘म्यान अफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट खेलाडीलाई रु ५० हजार, फेयर प्ले (टोलीलाई) रु २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

रु ५१ लाख ५४ हजार खर्च र ५५ लाख २० हजार आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । खेलको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर