काठमाडौँ,
स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।
‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो ।
समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
मेलामा गलैँचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिनाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जनाएको छ ।
सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले कक्ष रहने बताउनुभयो । “प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौँ, बाँकी कक्ष राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । समितिले हरेक वर्ष मेला गर्दै आएको छ ।