[अमित खम्बू]
अर्जुनधारा।

नियम कानूनको पालना गराउने निकाय प्रहरी प्रशासनले नै कानूनको खिल्ली उडाउँदै नियम विपरीत कार्य गर्ने गरेको भेटिएको छ ।
शनिश्चरे ट्राफिक प्रहरी बिट र शनिश्चरे प्रहरी चौकीले संयुक्तरुपमा सोमबार अर्जुनधारा–७स्थित नारायणचोकमा गरेको सवारी चेकजाँचको क्रममा प्रहरी प्रशासनबाटै त्यस किसिमको कार्य हुने गरेको भेटिएको हो ।

चेकजाँचको क्रममा व्यवसायीहरुले माई नगरपालिका–१स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट दिगम्बर बाबा स–मिलमा लाँदै गरेको अवस्थामा लोड गरी ल्याइएको अक्सनको गोलिया बोकेका सबै ट्याक्टर चालकको सवारी चालक अनुमति पत्र र सवारीको कागजपत्र नभएको अवस्थामा फेला पारेको शनिश्चरे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकजाँच टोलीले फेला पारेको ट्याक्टरहरुमा को१त ६२९९, ना४त ८४९७, मे१त ६०६९, मे१त २२८८, को१त ६८९२, लु३त ८९८९, मे१त २११३ र मे१त ६०२५ नम्बरको ट्याक्टरहरु मध्ये केहीको लाइसेन्स त केहीको ब्लुबुक थिएन ।

यस विषयमा दानाबारी ट्राफिक बिटका प्रहरी जवान उपेन्द्र यादवसँग बुझ्दा उनले सवारी चालक अनुमति पत्र र ब्लुबुक नभएका ती ट्याक्टरहरु स्थानीय लोदीया प्रहरी चौकीका प्रमुख प्रसनि खगेन्द्र राजवंशीको आदेशमा आफूले कार्वाही नगरी छोडेको बताए । ‘चेन अफ कमाण्ड हुन्छ सर मैले मात्र के गर्नु ?’– उनले भने ।
यता यस विषयमा लोदिया प्रहरी चौकी प्रमुख प्रसनि राजवंशीसँग फोन सम्पर्क गर्दा आफूले त्यसो नभनेको व्यवहारिक पक्ष मात्र हेर्न खोजेको भन्दै आरोप अस्वीकार गरेका छन् । चेकजाँचको क्रममा फेला पारी केही समय नियन्त्रणमा लिइएको ती ट्याक्टरहरुबाट नियम अनुसार जरिवाना लिएर छाडिएको बिट प्रमुख दलबहादुर खत्रीले जानकारी दिए ।

