झापा ।
अरुलाई सदाचारको शिक्षा दिने डा.गोविन्द केसीले नै किर्ते गरेको खुलासा भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा. केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य फेला परेको हो ।
शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल विषयलाई लिएर पटक–पटक अनसन बस्ने केसीले आफुले किर्ते गरेको तथ्य भने लुकाउन सकेनन् । हाल केसीको अनसनस्थलका रूपमा समेत चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते भनि लेखिएको घटना र विचार अनलाईले फेला पारेसंगै केसीका कर्तुतहरु छरपस्ट भएका छन् ।
केसीले मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको बुझिएको छ । तीन फरक–फरक जन्ममितिलाई हेर्ने हो भने केसी तीन पटक जन्मिएको प्रष्ट हुन्छ ।
नेपालमा मेडिकल कलेज खोलेर गरिब जनताका छोराछोरीलाई नेपालमा नै शिक्षाको वातावरण सिर्जना गर्नुको सट्टा केसीले मेडिकल कलेज खोल्नु हुन्न भनेर अनसन बस्दा सबै मापण्ड पुरा गरेको बीएण्डसी टिचिङ्ग हस्पिटल लगायतका अस्पताल सम्बन्धन पाउनबाट बञ्चित भएका छन् । मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज नभएको अवस्थामा केसीकै कारण बीएण्डसीले सम्बन्धन पाउनबाट बञ्चिल हुनुपरेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका छन् ।
केसीले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको घटना र विचार अनलाइनले जनाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति फरक रहेको भनी प्रश्न उठाउने केसीले अब आफ्नै जन्ममिति र नागरिकताको प्रमाणपत्रबारे कसरी स्पष्टिकरण दिने हुन, जिज्ञाशाको विषय बनेको छ ।
१४ पटकसम्म अनसन बसिसकेका केसीले मेडिकल शिक्षाका लागी वर्षेनी अरबौं रुपैंया विदेशीदा भने चुपलागेर बस्ने गरेका छन् । नेपालमा भएका मेडिकल कलेजलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ र नेपालमा नै सर्वसुलभ रुपमा अध्ययन गर्ने वातावरण सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए । उनले अरुको विरोध नगर्न र नेपालमा नै सबै विषयको मेडिकल कलेज खुल्ने वातावरण सिर्जना गर्न आग्रह समेत गरेका छन् ।