चितवन,
चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिनुभयो । त्यसका लागि आजै क्यामेरा ट्रयापिङ टोली जंगल पठाइने उहाँले बताउनुभयो ।
जिल्ला वन कार्यालय, हरियो वन कार्यक्रमको सहयोग र समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सालकको अध्ययन गर्न लागेको हो । चितवनको कयरखोलादेखि भण्डारा ब्लकमा अध्ययन हुने भट्टराईले जानकारी दिनुभयो ।
मुख्यगरी सालकको अवस्था पत्ता लगाई यसको संरक्षित क्षेत्र बनाउने योजनाका साथ अध्ययन हुन थालेको जिल्ला वन अधिकृत केदार पौडेलले बताउनुभयो ।
नेपालमा सालकको राम्ररी अध्ययन हुन सकेको छैन । स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । यसको खबटा गहनाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।
विश्वमा आठवटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक मात्रै पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले जैविक विविधतामा पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्ने वन्यजन्तु विज्ञले बताएका छन् ।
सालकको अवस्थासँगै कुन प्वालमा सालक बस्छ, कस्तो प्रकृतिको माटोमा यसको वासस्थान हुँदो रहेछ भन्ने कुरा पनि अध्ययन गरिने कोषका अनुसन्धान अधिकृत भट्टराई बताउनुहुन्छ । स्याल दुम्सीले पनि प्वाल खनेको हुन्छ । सालकको र अन्य जनावरको प्वालमा के फरक छ भन्ने पनि अध्ययन हुनेछ ।