Aamsanchar

मालपोतमा तोडफोड

Author Image
बुधवार, फागुन ९, २०७४

[पार्थ मण्डल]
भद्रपुर।

जिल्ला मालपोत कार्यालय झापाका कर्मचारीले सेवा प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले मंगलबार दिउँसो कार्यालयभित्र तोडफोड गरेका छन् ।
आधादेखि एक घण्टाभित्र हुने कामकाजमा कर्मचारीले घण्टांै लगाउन थालेपछि आक्रोशित सेवाग्राहीले कार्यालयभित्र रहेका डेक्सबेञ्च तोडफोड गरेका हुन् । सेवाग्राहीले कार्यालयभित्र तोडफोड गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले तत्काल प्रहरी पठाएको थियो । प्रहरी घटनास्थल पुगेपछि आक्रोशित बनेका सेवाग्राहीको भीड नियन्त्रणमा आएको थियो । प्रहरीको सुरक्षा घेरामा कर्मचारीले दुई घण्टा सेवा दिएका थिए ।

घटना विवरण अनुसार मालपोत कार्यालयले यही फागुन ६ गतेदेखि मालपोतको सबै कामकाज अनलाइन प्रविधिबाट शुरु गरेको छ । सेवाग्राहीलाई जानकारी बिनै मालपोतले एक्कासी अनलाइन सेवा शुरु गरेको सेवाग्राहीले बताएका छन् । अनलाइनका लागि दक्ष कर्मचारी नहुँदा भएका कर्मचारीले कम्प्युटरबाट छिटोछरितो सेवा दिन नसक्दा सेवाग्राहीहरु फागुन ६ गतेदेखि कार्यालयमा धाउन बाध्य बनेका छन् । विहान ११ बजेदेखि कार्यालयमा आएका सेवाग्राही बेलुका ५ बजेसम्म कार्यालय परिसरभित्रै बसेर काम नसकी घर फर्किन बाध्य भएका थिए ।

आइतबारदेखि जग्गा पास गराउन कार्यालय धाएपनि अहिलेसम्म काम नभएको अर्जुनधाराका सेवाग्राही बिजेशकुमार साहले बताए । कार्यालयले अनलाइन सेवाको नाममा सेवाग्राहीलाई सास्ती दिँदै आएको छ– उनले भने– दक्ष कर्मचारी नराख्दा हामी मारमा परेका छौं । दक्ष कर्मचारी नराखी कम्प्युटरबाट अनलाइन सेवा शुरु गर्दा सेवाग्राहीले घण्टौ लाइनमा बस्नुपरेको मेचीनगरका सेवाग्राही होमप्रकाश आचार्यले गुनासो पोखे । एक घण्टामा हुने काम दिनभर लाग्दा कार्यालयमा सेवाग्राहीको पनि भीड बढ्न थालेको छ– उनले भने ।

दैनिक मालपोतमा जग्गा पास, रोक्का, दृष्टिबन्धक, फुकुवा, नामसारी, अंशवण्डा, हालसाविक लगायतका काम हँुदै आएको छ । अहिले अनलाइन सेवा शुरु गरेपछि ती कामहरु प्रभावित बनेका छन् । अनलाइनमा बसेका कर्मचारीले काममा घण्टौ लगाउँदा दिनमा १६देखि २० वटा मात्र जग्गा सम्बन्धी काम हुने गरेको छ । यसअघि दैनिक ३ सय भन्दाबढी जग्गा सम्बन्धी काम हँुदै आएको लेखापढी व्यवसायीहरुको भनाइ छ ।

भूमि सुधार तथा व्यवस्थापन विभागबाट डिजीसहित आएको कर्मचारीको टोलीले अनलाइन सेवाको उद्घाटन गरेको थियो । जिल्ला मालपोत कार्यालयले अनलाइन सेवा शुरु गर्दा सेवाग्राही, राजनीतिक दल तथा सञ्चारकर्मीलाई जानकारी नदिई सेवाको उद्घाटन गरेको थियो ।

यसैबीच माघ २७ गतेदेखि मालपोतका कर्मचारीलाई तालिम दिएर सेवा प्रदान गर्न शुरु गरिएको मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत रोशनशंकर घिमिरेले बताएका छन् । अनलाइन सेवा शुरु हुँदा कार्यालयको कामकाजमा केही ढिलासुस्ती भएको स्वीकार्दै उनले भने– फोटो, हस्ताक्षर र औँठा छाप कम्प्युटरमा राख्नुपर्ने हुन्छ, नयाँ प्रविधिका कारण कर्मचारीको कम्प्युटरमा हात नबस्दा पहिलाको तुलनामा काम कम भएको हो । सेवाग्राहीको पीडालाई मध्यनजर गर्दै केही दक्ष जनशक्ति थपी चाँडोभन्दा चाँडो छिटोछरितो सेवा प्रदान गर्न आफू लागीपरेको उनले बताए ।

लेखापढीले बुझाए ज्ञापनपत्र

मालपोत कार्यालय झापाले अनलाइन प्रविधिबाट सेवा शुरु गरे पनि यसको प्रत्यक्षमार सेवाग्राहीलाई परेको भन्दै नेपाल लेखापढी कानून व्यवयासी एशोसिएशन इकाई समिति भद्रपुरले १० बँुदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

समितिका अध्यक्ष महेश न्यौपाने र सचिव महेन्द्र खतिवडासहितको टोलीले कार्यालय प्रमुख मालपोत अधिकृत घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । दक्ष प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्ने, दैनिक पेश भएका लिखतहरुको सोही दिन कार्य सम्पन्न गर्नुपर्ने, मालपोत कार्यालयबाट हुने ढिलासुस्तीको अन्त्य हुनुपर्ने, सेवाग्राहीको परिवर्तित बिषयमा सुसूचीत गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै रोक्का खातालाई अध्यावधी गर्नुपर्ने, वडापत्रमा उल्लेख भए अनुसारको कार्य सम्पन्न नभएमा सेवाग्राहीलाई राज्यले निर्धारण गरेको क्षतिपूर्ति दिनुपर्ने, अपाङ्ग, बालबालिका, वृद्धवृद्धा लगायत सूचीकृतहरुको सम्बन्धमा छुट्टै व्यवस्था गर्नुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)