Aamsanchar

हल्दिवारीका जनप्रतिनिधिसँग छलफल

Author Image
बिहिवार, फागुन १०, २०७४

बिर्तामोड।

झापा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिहरुले कर बृद्धिका विषयमा स्थानीयले उठाएको आवाजमा जनभावनाको कदर गरी अघि बढ्ने बताएका छन् ।

संवाद समूह झापाले बुधवार गाउँपालिकाका जनप्रतिनिधिसँग गरेको छलफलमा उनीहरुले विभिन्न समस्या र चुनौति बारे जानकारी गराउँदै समाधानका उपाय समेत औंल्याएका थिए । उनीहरुले जनभावनाको कदर गरी स्थानीय करलाई समायोजन गर्दै अघि बढ्ने बताएका छन् । स्थानीयवासीले उपभोक्ता समिति नै बनाएर करबृद्धिको विरोध गर्दै आएका थिए ।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले करको विषयमा जनतालाई बुझाउन नसक्दा समस्या उत्पन्न भएको बताए । बितेका समय जुन रफ्तारमा काम गर्नुपर्ने हो, त्यो गर्न नसकेको बताउँदै उनले प्रदेश र केन्द्रले स्थानीय तहको अधिकार किटान गर्नुपर्ने समेत औंल्याए । करबृद्धिको आवश्यकता र औचित्य प्रष्ट्याउँदै उनले समायानुकूल र जनताले धान्न सक्ने कर समायोजन गर्दै जाने बताए ।

गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले स्थानीय जनप्रतिनिधिलाई आवश्यक प्रशिक्षणसहित स्पष्ट नियम र निर्देशिका अनुसार अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । स्थानीय तहमा देखिएका राजश्व लगायतका समस्या समाधानमा जिससले समन्वय गर्नुपर्ने गिरीको भनाइ छ ।

छलफलमा वडा नं. १का अध्यक्ष त्रिलोचन सापकोटा, २का अध्यक्ष राजेन्द्र योङ्हाङ, ३का अध्यक्ष रोशनी शिवाकोटी, ४का अध्यक्ष होमप्रसाद चुडाल र ५का अध्यक्ष शेरबहादुर नेम्वाङले वडा तहका विभिन्न समस्या र चुनौति बारे जानकारी गराएका थिए । छलफलमा अधिवक्ता नारायणप्रसाद पौडेलले समेत विभिन्न सुझाव दिएका थिए । छलफलको सहजीकरण संवाद समूहका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर