बिर्तामोड,
झापाको बिर्तामोडबाट इलामको रोङ गाँउपालिका–१ सिरिसे तर्फ जाँदै गरेको ट्याक्सी दुर्घटना हुदाँ घाइते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्तिपुर–झापा एकता मञ्चले फलफुल वितरण गरेको छ ।
तत्कालिन शान्तिपुर गाविसमा जन्मेर झापाका विभिन्न स्थानमा बसेबास गर्दै आएका शान्तिपुरबासीले एकता मञ्च मार्फत शान्तिपुरबासीलाई सहयोग गर्ने उद्धेश्यले निमार्ण गरिएको समितिले दुर्घटनामा परेका १० जना घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गर्दै उनीहरुलाई फलफुल वितरण गरिएको समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।
गत बुधबार साँझ बिर्तामोडबाट इलाम तर्फ जादै गरेको मे१ज १९६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रोङ्ग गाउँपालिका–१ को शिवाकोटी पाखामा ‘ब्रेकफेल’ भइ जिप दुर्घटनामा परेको थियो । घाइतेहरु सबैको बीएण्डसी टिचिङ्ग हस्पिटलमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था समान्य रहेको र अधिकांशको आजै डिस्र्चाज गरिने जनाइएको छ ।
दुर्घटनामा परेर घाइतेभएकाहरुले झापामा बसेर पनि आफ्नो जन्मभूमी प्रतिदेखाएको मायाको प्रशंसा गरेका छन् । उनीहरुले शान्तिपुरबासीको भरोसा भन्न सफल होस भन्दै एकता मञ्चलाई शुभकामना समेत दिएका छन् ।
केही महिना अघिमात्रै गठन भएको मञ्चलले सामाजिक अग्रसरता देखाएसंगै झापामा बसोबास गरिरहेका शान्तिपुरबासीले खुशी ब्यक्त गरेका छन् । हाल विधान निर्माण चरणको अवस्थामा रहेको समितिले आगामी चैत्र ५ गते वृहत भेलाको आयोजना गरेको छ । एकता मञ्चले झापा र शान्तिपुरलाई जोड्दै पुलको काम गर्ने लक्ष्य लिइएको जनाइएको छ । तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाँउपालिका १ र २ भएको छ । तर शान्तिपुरबासीले आफुहरुको पहिचान भनेकै शान्तिपुर भएको भन्दै यसलाई निरन्तरता दिदैं एकता मञ्च निर्माण गरेका हुन् ।