Aamsanchar

हात्तीपाइले रोगबाट बच्ने एक मात्र उपाय औषधि

Author Image
शनिवार, फागुन १२, २०७४

झापा,

सन् २०२० सम्ममा रोगको निवारण गर्ने लक्ष्यका साथ सरकारले प्रत्येक वर्ष हात्तीपाइलेको जोखिम रहेका जिल्लामा औषधि खुवाउँदै आएको छ । यसवर्ष पनि पाँचथर, इलाम, झापा, भोजपुर, कपिलवस्तु, बारा लगायत २४ जिल्लामा सरकारले हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ । तर जोखिम रहेका जिल्लामा सबैले औषधि सेवन गर्दैनन् । जसका कारण लक्षणबिहीन मानिएको हात्तीपाइले रोगका कारण शारीरिक रुपमा अशक्त तथा अपाङ्गता हुने क्रम रोकिएको छैन ।

पहिलो दिन छुटेकालाई दोस्रो र तेस्रो दिनमा औषधि खुवाइने

जोखिम रहेका २४ जिल्लाका ९१ लाख ५४ हजार मानिसलाई हात्तीपाइले विरुद्ध औषधि खुवाउने कामलाई सरकारले निरन्तरता दिएको छ । यो वर्ष फागुन १२ देखि १४ गते अभियान सञ्चालन हुँदैछ । हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय औषधि सेवन कार्यक्रम मार्फत ती जिल्लामा औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विवेककुमार लालले भन्नुभयो, ‘प्रत्येक गाउँ–बस्तीमा औषधि वितरणका लागि हामीले अस्थायी बुथ निर्माण गर्छौै । तालिमप्राप्त स्वास्थ्यकर्मी तथा स्वयम्सेवकको निगरानीमा औषधि खुवाइन्छ, ।’ पहिलो दिन छुटेकालाई दोस्रो र तेस्रो दिन घरभेट गरी औषधि खुवाइने डा. लालले बताउनुभयो । ‘सम्भव भएसम्म घर–घरमै पुगेर औषधि वितरण गर्छौ’, डा. लाले भन्नुभयो ।

प्रारम्भिक चरणमा औषधि सेवन गरे बच्न सकिने

क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट हुने हात्तीपाइले रोगका कारण ३० हजार बढी मानिसमा अपाङ्गता भएको सरकारी तथ्याङ्क छ । यस रोगको परजीवि शरीरमा प्रवेश गरेको वर्षौसम्म लक्षण देखा नपर्ने भएकाले पनि यसलाई लक्षणविहीन रोग भनिन्छ । तर प्रभारम्कि चरणमा औषधि सेवन गरे यसबाट बच्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताउनुभयो ।

डा. पुन भन्नुहुन्छ, ‘केहीलाई खुट्टाका नशाका हल्का सुन्निएको तथा रातो भएजस्तो तन्किएजस्तो हुन्छ । तर अधिकांशले यसमा ध्यानै दिदैनन् । त्यसपछि शरीरको कुनै अंग सुन्निएर आएपछि मात्र उसले हात्तीपाइले रोग लागेको थाहा पाउँछ ।’ प्रारम्भिक चरणमै औषधि सेवन गरे यसबाट बच्न सकिने डा. पुनले बताउनुभयो ।

टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आयो ? नआत्तिनुस् 

दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगीले तथा खाली पेटमा यो औषधि खान हुँदैन । औषधि खाएपछि केहीमा टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या आउन सक्छ तर यसमा आत्तिहाल्नु नपर्ने डा. पुनले स्पष्ट पार्नुभयो  ।

‘यदि हाम्रो शरीरमा यसको परजीवि प्रवेश गरीसकेको हो भने मात्र यस्तो समस्या आउन सक्छ’, डा. पुनले भन्नुभयो , ‘यसमा आत्तिने भन्दा पनि औषधिले काम गरीरहेको भन्ने बुझ्नुपर्छ ।’  यी लक्षणहरु केही घण्टामै आफै हराएर जाने हुन्छ । तर लामो समयसम्म यस्ता समस्या आए नजिकैको स्वास्थ्य संस्थामा जान डा. पुनको आग्रह छ ।

सरकार भन्छ, ढुक्क ‘भएर औषधि खानुस्’

सरकारले सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि ६१ जिल्लाबाट खुवाउन सुरु गरेको थियो । औषधि सेवनपछि यसको जोखिम घट्दै गएपछि हाल २४ जिल्लामा मात्र यो कार्यक्रम सीमित छ । नेपालमा पटक–पटक गरी १० करोडभन्दा बढी मात्रामा औषधि खुवाइसकिएको डा. लालले जानकारी दिनुभयो । तर, औषधि सेवनबारे जनमानसमा रहेको भ्रम अझै पनि नहटेको भन्दै डा. लालले भन्नुभयो, ‘यो औषधि पूर्ण रुपमा सुरक्षित छ ।

हामी सबैले ढुक्क भएर औषधि सेवन गरौ ।’   हात्तीपाइले रोगको लक्षण वर्षौपछि मात्र देखापर्ने र लक्षण देखिसकेपछि निको पार्न सकिदैन ।  यस रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै पूर्ण रुपमा निको हुन औषधि सेवन गर्नुको अन्य विकल्प छैन । त्यसैले प्रभावित जिल्लाका स्थानीय यस रोगप्रति सचेत हुनु आवश्यक देखिन्छ । -रेडियो कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)