Aamsanchar

बिर्तामोडमा समस्यैसमस्या/अलपत्र अन्धुवा पुल

Author Image
सोमवार, फागुन १४, २०७४

[नरेन्द्र ढकाल]
बिर्तामोड, 

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँसराइको दर पनि उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र हुँदा अस्तव्यस्त भएको हो ।

बिर्तामोडका सडकलाई फराकिलो बनाउने उद्देश्यले केही समय अघि नगरपालिका र सडक डिभिजन कार्यालयले बिर्तामोड–भद्रपुर सडकखण्डका भौतिक संरचना हटाएका थिए । त्यस्तै पूर्व–पश्चिम राजमार्गका अतिक्रमित संरचना हटाउनुका साथै सडक किनारका रुख ढालेपछि अहिले बिर्तामोडलाई धुलोले छोपेको छ ।

सवारी चाप बढेसँगै त्यसलाई ब्यवस्थापन गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अन्धुवा खोलाको दाँया–बाँया पक्की पुल निर्माण शुरु गरिए पनि ठेकेदार काम थालेको १५ दिन नपुग्दै बेपत्ता भएका छन् । ठेकेदार बेपत्ता भएसँगै पुलमा सवारी दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै आएका जनप्रतिनिधिहरुले विकास निर्माणलाई प्राथमिकता दिने आश गरेका जनता निराश बन्दै गएका छन् । उनीहरुले जनप्रतिनिधिहरुले विकासको कामलाई अगाडि नबढाउँदा बिर्तामोडमा धुलोजन्य रोगको जोखिम बढेको, दुर्घटनाको जोखिम उच्च भएको तथा वर्षायाममा बिर्तामोड डुब्ने सम्भावना प्रबल रहेको भन्दै यसको जिम्मेवारी जनप्रतिनिधिले लिनुपर्ने बताएका छन् ।

बिर्तामोड नगरपालिका–१का ईश्वर खनालले धुलोका कारण आँखाका बिरामी बढ्दै गएको बताएका छन् । उनले हावा चल्ने समय भएकाले पैदलयात्रीलाई समेत धुलोका कारण हिँड्डुल गर्न समस्या हुने गरेको बताए । सडक विस्तार हुने भयो भनर उत्साहित स्थानीय अहिले जनप्रतिनिधिप्रति आक्रोशित हुन थालेका छन् ।
८२ फिट सडक क्लियर गर्ने भन्दै नगरपालिकाले खाली गरेको फुटपाथमा पुनः व्यवसाय सञ्चालन हुन थालेपछि पैदलयात्रीलाई समस्या भएको स्थानीय राजकुमार राईले बताए । उनले भने–सडकका किनारमा व्यापारी, सडकमा सवारीको जाम, पैदलयात्रीले कहाँबाट हिँड्नु ?

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले पुल निर्माणका जिम्मा लिएको ठेकेदारले ढाँटेको आरोप लगाएका छन् । उनले निर्माण थालेर अलपत्र छाड्दा दुर्घटनाको जोखिम बढेको बताए । पुल निर्माणमा लापरबाही गर्दा ठूलो दुर्घटना हुने चिन्ता बढेको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।
यसैबीच बिर्तामोड–भद्रपुर सडक खण्ड ठेक्का लागाउने प्रक्रिया शुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले बताएका छन् ।

भौतिक संरचना नहटाएसम्म सडक ठेक्का नलिने भएपछि ठेक्का लाग्नुअघि नै संरचना हटाउनुपर्ने बाध्यताका कारण अहिले धुलो उडेको उनको भनाइ छ । ठेक्का प्रक्रिया शुरु भएपछि बाटो विस्तारका साथै पिच गर्ने काम शुरु हुने भन्दै केही समय धैर्य गरिदिन उनले बिर्तामोडबासीलाई आग्रह गरेका छन् ।

वर्षा याम शुरु हुनु अगावै काम शुरु गर्ने हिसाबले ठेक्का लगाउने उद्देश्यले काम भइरहेको नगर प्रमुख शिवाकोटीले बताए । बिर्तामोडमा भएका भौतिक संरचना तथा निर्माणाधीन संरचनाको अनुगमन गर्ने भन्दै अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम तत्काल थाल्न निर्देशन दिएको उनले बताए । वर्षायाम शुरु हुनु अगावै पुल निर्माण सम्पन्न नगरे ठूलो क्षति हुने विषयमा ठेक्केदारलाई अवगत गराइसकेको शिवाकोटीको भनाइ छ । नगर प्रमुख शिवाकोटीले बिर्तामोडका फुटपाथ व्यापारीसँग लुकामारी गर्नुपरेको गुनासो पोखे । उनले भने– नगरपालिकासँग नगर प्रहरी छैन, हामी फुटपाथमा व्यापार गर्नेहरुलाई हटाउन गाडी लिएर जान्छौं उनीहरु लुक्छन्, हामी हिँडेपछि फेरि उस्तै ।

बिर्तामोड अवसर र चुनौति दुवै भएको नगरपालिका भएकाले आफू यस क्षेत्रको विकासका लागि खट्ने प्रमुख शिवाकोटीले बताए । नगर प्रमुख शिवाकोटीले विकासका लागि खट्ने बताए पनि स्थानीयबासीले भने जनप्रतिनिधिले केही काम नगरेको भन्दै अब जनप्रतिनिधिबिरुद्ध आफूहरु सडकमा उत्र्ने चेतावनी दिएका छन् ।

व्यापारिक दृष्टिकोणले अत्यन्त ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडमा सार्वजनिक शौचालय समेत नहुँदा सर्वसाधारणलाई शौच गर्न समेत समस्या पर्ने गरेको छ । नगरपालिकाले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकालाई हस्तान्तरण गरेको घुम्ती शौचालयलाई व्यवस्थित गर्ने विषयमा समेत नगरपालिकाले चासो नदिएको स्थानीयको भनाइ छ । यता गतसाताको टेलिफोन सम्पर्कमा तीन दिनभित्र अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम थाल्ने बताएका ठेकेदारले पुनः मंगलबारसम्मको भाका सारेका छन् ।

ठेकेदार गणेश भट्टराईले सोमबारभित्र दिल्लीबाट सामान लिएर काँकरभिट्टा आउने र मंगलबारबाट काम शुरु गर्ने भन्दै भाका राखेका छन् । पुल निर्माणको विषयमा गम्भीर नदेखिएका ठेकेदारले सडक किनारमा राखिएको माटो लगायतका संरचनाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)