Aamsanchar

झापा गोल्डकपलाई बिर्तामोड नगरपालिकाको पाँच लाख

Author Image
सोमवार, फागुन १४, २०७४

बिर्तामोड।

यही फागुन १९ गतेबाट हुन लागेको तेस्रो झापा गोल्डकपका लागि बिर्तामोड नगरपालिकामा पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले उक्त गोल्डकप व्यवस्थापनवापत पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । २८ गतेसम्म हुने गोल्डकपलाई नगरपालिकाले आफ्नो गौरवको रुपमा लिँदै उक्त रकम सहयोगको निर्णय गरेको बताइएको छ ।

त्यस्तै नगरपालिकाको ट्रिपरले ठक्कर दिएर घाइते भएका सरोज विकलाई उपचार खर्च भएको एकलाख ५० हजार रुपैयाँ दिने समेत निर्णय भएको छ । बिर्तामोड नगर क्षेत्रका बुधबारे हटिया बजार, बसपार्क, बिर्ताबजार, सैनिकबजार, गरामनी बजार, चैतुबारी बजार, चारपाने बजारका अव्यवस्थित व्यापारीलाई अध्यावधिक गराइ सम्बन्धित वडाध्यक्ष मार्फत व्यवस्थापन समिति गठन गर्ने समेत निर्णय गरेको प्रवक्ता पाण्डेले बताए । साथै पुरानो समितिसँग गरेको आर्थिक हिसाब समेत दुरुस्त राख्न लगाउने निर्णय भएको छ ।

बिर्तामोड नगरपालिकाले चालू तथा गत वर्ष लगायत पार्किङ व्यवस्थापनको ठेक्का रद्द गरी उठेको रकम दामासाहीले फिर्ता गर्नुपर्ने भए फिर्ता गर्ने समेत निर्णय गरेको छ । नगरपालिकाको शिक्षा नियमावली बमोजिम शैक्षिक गतिविधिलाई सञ्चालन गर्न बनाइने नगर शिक्षा समितिमा कूलप्रसाद संग्रौला, निता घतानी र द्रौपदी गणेशलाई पठाउने निर्णय गरिएको छ ।

त्यस्तै, नगर उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिमा यमुना आचार्य र उपेन्द्र पराजुलीलाई थप गरी पूर्णता दिने समेत निर्णय गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेबमोजिम बिर्तामोड नगरपालिकाको राजपत्र प्रकाशन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

त्यस्तै, नगरले कृषि र पशुका विविध कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव तथा मागपत्रको मूल्यांकनका लागि उपप्रमुख पवित्रा महतारा प्रसाईंको संयोजकत्वमा मूल्यांकन समिति बनाएको छ । जसमा कृषितर्फ प्रसाईंसहित भोजराज सिटौला, पवित्रा पाठक, राजेन्द्रप्रसाद लिङ्देन र राजेन्द्रप्रसाद खरेल रहेका छन् । त्यस्तै, पशु कार्यक्रमतर्फ उपप्रमुख प्रसाईं, सिटौला, पाठक, लिङ्देन र सानुमाया श्रेष्ठ रहेका छन् ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर