Aamsanchar

होलीको आशिष :घरमा सुरक्षित चर्पी बनाउनु, स्वस्थ रहनु

Author Image
शुक्रवार, फागुन १८, २०७४

[विनोद धौलागिरि]
झापा ।
रंगहरुको पर्व होलीको अवसरमा एकापसमा रंग लगाउँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिइन्छ । तर, झापाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र युवाहरुले चर्पी बनाउन अनुरोध गर्दै होली मनाए ।

“आफ्नो गाउँपालिका र जिल्ला नै खुल्ला दिसामुक्त घोषणा गर्न सकिएको छैन । यस अवस्थामा केको सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिइरहनु ?”, गौरीगञ्ज गाउँपालिकामा सरसफाइ प्रवद्र्धन होली मनाइरहेका गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले भने, “घरमा चर्पी नबनाएसम्म न इज्जत जोगिन्छ, न स्वास्थ्य नै राम्रो हुन्छ । त्यसैले, सबैलाई आफ्नो घरमा सुरक्षित चर्पी बनाउनका लागि शुभकामना दिइयो ।”

सोही कार्यक्रममा भेटिएका सामाजिक अगुवा निरज अग्रवालले समेत दिगो सरसफाइ नै समुन्नतिको आधार भएकोले होलीको अवसरमा समेत आफूहरुले चर्पी बनाउन अनुरोध गर्दै हिडेको बताए । “सबै घरमा चर्पी बनेर गाउँपालिका खुल्ला दिसामुक्त भएको दिन नै हाम्रा लागि होली र दीपावली सरह हुन्छ”, उनले भने ।
गौरीगञ्ज गाउँपालिका, वडा नं. ५ का वडाध्यक्ष बद्रिनारायण यादवले सकेसम्म वडाका सबै घरमा पुगेर होलीको शुभकामनासहित चर्पी बनाउन अनुरोध गर्ने बताए ।

बिर्तामोड नगरपालिकाको गरामनीमा आयोजना गरिएको सरसफाइ प्रवद्र्धन होलीको नेतृत्व वडा नं. ८ का सदस्य लक्ष्मी विश्वकर्मा र सरसफाइ सहजकर्ता नमिता बस्नेत काफ्लेले गरे । “हाम्रा लागि सबै समय खुल्ला दिसामुक्त अभियान प्रवद्र्धनको समय हो”, वडा सदस्य लक्ष्मी विश्वकर्माले भनिन्, “नगरपालिकाका बासिन्दा भएर पनि खुल्ला दिसामुक्त हुन सकेका छैनौं । त्यसैले होली पनि हाम्रो लागि सरसफाइ प्रवद्र्धनको अवसर हो ।”

झापाकै गौरादह नगरपालिकामा स्थानीय युवाहरुले सरसफाइ प्रवद्र्धनको सन्देशसहित होली खेलिएको सरसफाइ अभियानकर्ता रमा निरौलाले बताइन् । “यही गौरादह र निर्वाचन क्षेत्रले देशका प्रधानमन्त्री र अर्थमन्त्रीदेखि प्रदेशका गृहमन्त्री र सरसफाइ दूत जन्माएको छ, तर यही ठाउँ अहिलेसम्म खुल्ला दिसामुक्त हुन सकेको छैन”, निरौलाले भनिन्, “त्यसैले, आफ्नो घरमा एउटा सुरक्षित चर्पी बनाउन अनुरोध गर्दै घरदैलो गरी होली मनाइयो ।”

झापा गाउँपालिकामा पर्ने टाँघनडुब्बा र कुमरखोदमा युवाहरुले सरसफाइ प्रवद्र्धनका गीतमा नाच्दै होली मनाए । “हाम्रा लागि सरसफाइ नै सबथोक हो”, अभियानकर्ता नितेशकुमार गणेशले भने, “त्यसैले आज मौका छोपेर होलीको दिनमा पनि सरसफाइ प्रवद्र्धनकै काम गरियो ।”

शिवसताक्षी नगरपालिकामा विद्यार्थीहरुको समेत सहभागितामा सरसफाइ प्रवद्र्धन होली मनाइयो । “यही अवसरमा विद्यार्थीहरुले चर्पी बनाउन अनुरोध गर्दै घरदैलो गरेको अभियानकर्ता लीला आचार्य नेपालले जनाइन् ।

कचनकवल गाउँपालिकाको बालुबाडी, पथरिया, केचना र पाठामारीमा वडाध्यक्षहरुसहित सरसफाइ प्रवद्र्धन ¥याली र घरदैलो गरियो । आज धेरैलाई घरमा नै भेटिने भएकोले होलीको शुभकामना दिंदै चर्पी बनाउन अनुरोध गरिएको अभियानकर्ता मोतीलाल राजवंशीले जानकारी दिए ।

बाह्रदशी गाउँपालिकाको राजगढ र डाँगिबारी तथा कचनकवल गाउँपालिकाको घेराबारीमा स्थानीय युवाहरुले सरसफाइ प्रवद्र्धन होली मनाए । वडा कार्यालयहरुबाट सुरु भएको ¥याली गाउँका टोल टोलमा पुगेर चर्पी बनाउन अनुरोध गरेको प्रदीप पुरीले जानकारी दिए ।

१ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापामा खुल्ला दिसामुक्त अवस्था हासिल गर्नका लागि अझै पनि १९ हजार ३ सय ४० घरमा सुरक्षित शौचालय बनाउन बाँकी रहेको छ । १५ स्थानीय तहमध्ये ३ स्थानीय तहमात्र खुल्ला दिसामुक्त घोषणा भएका छन् । त्यसैले, प्रत्येक दिन सरसफाइ प्रवद्र्धनका लागि नौला, सृजनाशील र जागरणमूलक क्रियाकलाप सञ्चालन गर्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले सम्पूर्ण स्थानीय तह र सहजीकरण गर्ने निकायहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर