Aamsanchar

सर्वाधिक पुरस्कार राशिको तेस्रो रमपम झापा गोल्डकप आजबाट सुरु हुदैं

Author Image
शुक्रवार, फागुन १८, २०७४

झापा।

झापाको बिर्तामोडमा आजबाट मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपको सुरु हुदैं छ । आज हुने उद्घाटन खेलमा आयोजक रमपम झापा–११ र सुदुर पश्चिम आम्नेसाम्ने हुने बताइएको छ ।

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने ‘तेस्रो झापा गोल्डकप २०७४ अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता’को सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा आयोजक रमपम झापा ११ फुटबल क्लब, भारतको सिक्किम युनाइटेड क्लव, काठमाडौंको मनाङ मस्र्यांदी, थ्री स्टार क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुरपश्चिम ११ कैलाली, विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल लगायतको सहभागिता रहने खेलकुद मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्रदेश नं। १का मुख्य मन्त्री शेरधन राईले गर्ने कार्यक्रममा जानकारी दिइयो । रमपम झापा ११ फुटबल क्लबसँग आवद्ध खेलाडीहरुलाई विभिन्न उद्योग, व्यवसाय, प्रतिष्ठान र संघ–संस्थाहरुबाट अनुबन्ध गर्ने कार्यको शुरुवात भएको र यो अभियान निरन्तर अगाडि बढाइने गिरीले बताए । उनले झापा ११का खेलाडीहरु अन्य क्लबहरुसँग अनुबन्ध भएर खेलिरहेको अवस्थामा आफूहरुले विभिन्न कर्पोरेट हाउसको सहयोगमा खेलाडीहरुलाई अनुबन्ध गर्न शुरु गरेकोले ती खेलाडीहरु पुनः झापा ११मै फर्काइने बताए ।

प्रतियोगिता सञ्चालन गर्नका लागि झापाका विभिन्न कर्पोरेट हाउसहरुले ६० लाख रुपैयाँको सहयोग गरेको जानकारी दिँदै अध्यक्ष गिरीले यसले प्रतियोगिता सञ्चालन गर्न थप हौसला मिलेको बताए । फुटबल खेललाई सिकाईको एक भागको रुपमा विकसित गर्दै लैजान विद्यालयस्तरका विद्यार्थीहरुलाई प्रतियोगिता हेर्न अवसर प्रदान गरिने बताउँदै अध्यक्ष गिरीले झापाका ४० विद्यालयका १० हजारभन्दा बढी विद्यार्थीहरुले खेल हेर्ने अनुमान गरेको बताए ।

प्रतियोगिताको विजयी टिमलाई नगद १२ लाख ५१ हजार र उपविजेता टिमलाई नगद ६ लाख ट्रफी प्रमाणपत्र प्रदान गरिने बताउँदै अध्यक्ष गिरीले प्रतियोगिताका म्यान अफ द म्याच घोषित खेलाडीहरुलाई नगद २५ हजार प्रदान गरिने बताए । बिर्तामोडमा रहेको ओली एण्ड एशोसिएट्सले प्रत्येक दिन हुने म्यान अफ द म्याचलाई उक्त रकम प्रदान गर्ने जानकारी दिइयो ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने बताउँदै अध्यक्ष गिरीले झापा ११बाट उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई मोटरसाइकलसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने जानकारी दिए । प्रतियोगिताको समुद्घाटन तथा फाइनल खेल हेर्नका लागि एलईडी डिस्प्लेबाट प्रतियोगिता र रि–प्ले गरिने कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै दर्शकहरुका लागि गेट टिकटमा उपहार कुपनको व्यवस्था गरिने, प्रत्येक दिन लक्की ड्र मार्फत एक जना भाग्यशाली दर्शक छनौट गरी टेलिभिजन सेट उपहार स्वरुप प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो । प्रत्येक दिन छानिने भाग्यशाली दर्शकलाई २४ इञ्र्चको टेलिभिजन र सेमीफाइनलमा छानिएका भाग्यशाली दर्शकलाई ३२ इञ्र्चको टेलिभिजन र फाइनलमा छानिएका भाग्यशाली दर्शकलाई ४० इञ्र्चको टेलिभिजन प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो । बिर्तामोडमा रहेको सामसुङ प्लाजा र महेन्द्र–रत्न स्टोर्सको तर्फबाट उक्त पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो ।

सोही प्रतियोगिताको अवसरमा झापाका दुई जना पुराना फुटबल खेलाडीहरुलाई नगद पुरस्कार, सम्मान पत्र र ट्रफीसहित सम्मान गरिने कार्यक्रममा जानकारी दिइयो । प्रतियोगितामा सहभागी हुने आयोजक रमपम झापा ११ फुटबल क्लबका खेलाडीहरु क्लोज क्याम्पमा रहेको र प्रतियोगिताको उपाधि चुम्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष गिरीले बताए ।

प्रतियोगिताको लागि लगभग ५ हजार दर्शक अटाउने बाँसको प्यारापिट निर्माण भएको मैदान व्यवस्थापन समितिका संयोजक फिरोज राईले जानकारी दिए । बिगतका बर्षहरुमा भएको प्रतियोगितामा टिकट काटेका दर्शकले खेल हेर्न नपाएको बताउँदै राईले यस बर्ष छ तहको प्यारापिट निर्माण गरेको बताए । उनले मैदानको वरिपरी दुईवटा लाइनमा कुर्सी जडान गरेर बस्ने व्यवस्था गरेको जानकारी दिए । मैदानमा पानी हालेर घाँस काट्ने काम जारी रहेको मैदान ब्यवस्थापन समितिका संयोजक राईले बताए ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउँदै अध्यक्ष गिरीले प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च हुने बताए ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर