Aamsanchar

पानीट्यांकीमा उपचारको नाममा ठगी गर्ने भट्टराई पक्राउ

Author Image
सोमवार, फागुन २१, २०७४

झापा,

विभिन्न एजेन्टा बनाएर तथा नेपालका विभिन्न मिडिया प्रयोग गरेर भारतीय बजारहरुमा नेपाली बिरामी ठगएको घटना पटक–पटक सार्वजानिक भएपछि प्रहरी एक दललालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा कार्यरत भूपेन्द्र भट्टराई रहेका छन् । उनले नेपाली बिरामीलाई विभिन्न आश्वासन दिएर उपचारका लागी भारतीय शहरहरु पु¥याउने गरेको प्रहरीले दाबी गरेको छ ।

बाह्रदशी गाउँपालिका–२ स्थित राजगढका ५७ वर्षीय कालीबहादुर भण्डारीले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो । पक्राउ परेका भट्टराई झापा शान्तिनगर निवासी रहेको बताइएको छ । पीडितका अनुसार भट्टराईले पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा आफूलाई ‘सहायक विशेषज्ञ’ बताउँदै आएका थिए । प्रहरीले भने उनी विशेषज्ञ नै नभएको जनाएको छ ।

‘उनी नेपालका बिरामीलाई त्यहाँसम्म पुर्याउने माध्यम रहेछन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोड स्रोतले भन्यो, ‘त्यहाँको क्लिनकमा २ जना बंगाली डाक्टर छन्, यिनले चाहिँ आफूलाई सहायक विशेषज्ञ बताउँदा रहेछन् ।’ उनी नेपाली बिरामी लिएर पानीट्यांकीसम्म लैजान काँकडभिट्टा–पानीट्यांकी आवतजावत गरिरहने प्रहरीको भनाइ छ ।

उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको र चाँडै प्रमुख जिल्ला अधिकारीसमक्ष पठाइने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । सिमावर्ती झापामा भारतको पानी ट्याङकी लगायतका स्थानमा विभिन्न दलालहरु अटिएर नेपाली बिरामीको स्वास्थ्यमाथि गम्भिर खेलबाड गर्दा समेत यसको रोकथाम तर्फ राज्यले ध्यान दिन सकेको छ । प्रक्राउ परेका ब्यक्तिलाई के कानुनी कारबार्ही गर्ने भन्ने स्पष्ट नीति नहुदाँ यस्ता ठगहरु त्यसै उम्कन सक्ने भन्दै बिरामीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

यसरी गठीएका छन् बिरामीहरु

बाह्रदशी गाउँपालिका–२ स्थित राजगढका ५७ वर्षीय कालीबहादुर भण्डारी दिसा गर्न बस्दा गाँठो देखा पथ्र्यो । आफूलाई पाइल्स भएको थाहा पाएपछि उनी रेडियोको विज्ञापन सुनेर उपचार गराउन भारतीय सहर पानीट्यांकी गए ।

रेडियोले भारतको सीमावर्ती सहर पानीट्यांकीमा रहेका क्लिनकहरुको विज्ञापन बजाएपछि उनी त्यतैतिर हानिएका थिए । पानीट्यांकीको पाथीभरा क्लिनिकका डाक्टरले उनलाई शल्यक्रियाबिनै उपचार गर्ने बताए । त्यहाँ नेपाली डाक्टरहरु पनि थिए । ‘निको नभए पैसा फिर्ता गर्नेसम्म भने,’ कालीबहादुरले सुनाए, ‘उनीहरुले सुईबाट औषधि हालिदिए ।’

सुई लगाएपछि उनको पाइल्स सुन्निन थाल्यो । बढ्दै गएपछि फुट्यो । र, मासु झर्न थाल्यो । सँगै अर्को समस्या थपियो– बल गर्दा पनि दिसा निस्कनै छाड्यो । ‘पैसा नलिएसम्म हप्तैपिच्छे बोलाइरहे,’ कालीबहादुरले भने, ‘पैसा लिइसकेपछि अब नआउँदा पनि हन्छ भनेर पठाइदिए ।’ पानीट्यांकीको क्लिनिकमा उनले २० हजार भारतीय रुपैयाँ खर्च गरे । तर, रोग निको भएन ।

भारतमा आफू ठगिएको थाहा पाएपछि उनी बिर्तामोडकै बी एण्ड सी हस्पिटलमा भर्ना भए । बी एण्ड सीका डाक्टर रोहित यादवले लामो प्रयासपछि उनलाई निको पारेका थिए । त्यसपछि उनले भट्टराईविरुद्ध उजुरी दिएका थिए ।

झापा शिवसताक्षी–१० का ४२ वर्षीय जयनारायण योगीलाई पाइल्स भयो । नेपालमा प्रचार सुनेकै भरमा उपचारका लागि उनी पानीट्यांकीको माँ पाथीभरा क्लिनिक पुगे । क्लिनिकमा पुग्नेबित्तिकै ३२ हजार रुपैयाँमा डिल भयो । क्लिनिकका ‘सहायक विषेशज्ञ’ भूपेन्द्र भट्टराईले जयनारायणलाई रोग निको नभए पैसा फिर्ता हुने आश्वासन दिए । किस्ता किस्तामा पैसा दिए हुने भन्दै उपचार सुरु गरे ।

सुरुमा बिरामीलाई ३ घण्टा बेहोस बनाइयो । बिरामीको होस् खुलेपछि ३ दिनमा फेरि आउनु भन्दै घर पठाइयो । घर पुग्नासाथ जयनारायणलाई ज्वरो आउन थाल्यो । भोलिपल्टदेखि घाउ पाक्न पनि थाल्यो । ३ दिनपछि पुनः क्लिनिकमा जाँदा उनलाई ‘डाक्टर’ले ‘औँषधि’मा रुवा चोबेर लगाइदिए । त्यसपछि झन जयनारायणको मलद्वारबाट मासु झर्न थाल्यो, रगत बगिरह्यो ।

पानीट्यांकीमा उपचार सफल हुन नसक्ने थाहा पाएपछि उनी झापाकै दमक हस्पिटल पुगे । त्यहाँबाट उनलाई धरान रेफर गरियो । तर, अत्याधिक रगत बगेकाले आफन्तले उनलाई धरान लगेनन्, झापाकै बी एण्ड सी हस्पिटल पुर्याए । ‘धरान लगेको भए म बाटोमै मर्ने रहेछु, रगत यति बग्दै थियो कि कपडाको बुजो लगाउँदा पनि रोकिएन,’ जयनारायणले भने, ‘बी एण्ड सी हस्पिटलमा मैले पुनर्जन्म पाएँ ।’ अहिले उनको अवस्थामा सुधार आएको छ । पानीट्यांकीको क्लिनिकलाई उनले १३ हजार रुपैयाँ तिरिसकेका छन् ।

रोकिएन ठगी

भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् ।

ती क्लिनिकहरुले पाइल्स, फिस्टुला, हाइड्रोशिल लगायत दर्जनौँ रोगको उपचार ग्यारेन्टीका साथ गरिने विज्ञापन गर्छन् । त्यस्ता क्लिनिकहरु नेपाली बिरामीलाई मात्रै लक्षित गरी स्थापना गरिएका हुन् । नेपालका बिरामीलाई क्लिनिकसम्म लैजानका लागि क्लिनिक सञ्चालकले नेपालकै ‘एजेन्ट’ प्रयोग गर्ने गर्छन् । एजेन्टमार्फत बिरामी पानीट्यांकीसम्म पुगिरहेका छन् ।

पानीट्यांकीका क्लिनिकहरुले सस्तोमा ग्यारेन्टीका साथ उपचार गरिने भन्दै मेची अञ्चलका ठाउँ–ठाउँमा पर्चा, पम्प्लेट नै टाँसेका छन् । सोही पर्चा हेरेर र एजेन्टको भनाइमा विश्वास गरेर उपचारका लागि त्यहाँ पुग्नेहरु उपचार बिग्रिएर नेपालका अस्पतालमा इमर्जेन्सीमा भर्ना भइरहेका छन् ।

ती क्लिनिकमा बिरामी पुग्नासाथ पैसाको मोलमोलाइ सुरु हुन्छ । पैसामा कुरो मिलेपछि मात्र उपचार सुरु गरिन्छ । रोग निको नभए पैसा फिर्ता गर्ने प्रचार गरिए पनि हालसम्म कसैको पैसा फिर्ता गरिएको छैन । बिरामीहरुले नेपालका प्रशासनलाई गुहारे पनि हालसम्म केही कारबाही प्रक्रिया अगाडि बढेको छैन ।

पानीट्यांकीका शान्ति पाइल्स क्लिनिक, माँ पाथीभरा आयुर्वेदिक, चाँदसी क्लिनिक लगायत दर्जनौँ क्लिनिकहरुले सस्तो उपचारका नाममा नेपाली बिरामीलाई सास्ती दिइरहेका छन् । नेपालका बिरामीलाई ठग्ने त्यस्ता क्लिनिकहरुको वैधानिकतामाथि सम्बन्धित निकायले चासोसमेत दिएको छैन ।-नयाँपत्रिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर