Aamsanchar

झापा ११ फाईनलमा प्रवेश

Author Image
शुक्रवार, फागुन २५, २०७४

बिर्तामोड । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ बिजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको छ ।
निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले बजियी भएको हो । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देबेन्द्र तामाङले गोल गरेका थिए । बिश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए ।
थ्री स्टारका लागि रजिन धिमाले, बिजय धिमाल र निराजन खड्काले गोल गरेका थिए भने सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।

खेलको ११ औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो । ३० औ मिनेटमा झापाका बिशाल राइको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए । ६० औं मिनेटमा बिशाल राइको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ६५ औं मिनेटमा थ्री स्टारका दिपक राइको प्रहार झापाका गोर रक्षक किशोर गिरीले रोकेका थिए ।
६७ औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्ध चेम्जोङले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाईनबाट बचाएका थिए । ७५ औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिल बलले प्रहार गरेका थिए । सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच झापाका डिफेन्डर देबेन्द्र तामाङ घोषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो । शनिवारको अन्तिम सेमीफाइनल खेल मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।
खेलपछि भएको पोष्टम्याच कन्फ्रेन्समा बोल्दै बिजेता टीमका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले गरेको मेहेनतको फल पाएको बताए । उनले नेपालकै नम्बर १ टीमसँग खेलेर जित्नु सामान्य कुरा नभएको बताउँदै उनले दर्शकको समर्थन जितका लागि सहयोगि भएको टीप्पणी गरे । झापाले ११ ले थालेको अनुबन्धनका कारण पनि उत्साहित भएर खेलाडीले प्रदर्शन गरेको उनले बताए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झापा बलियो टीम भएकाले पराजय ब्यहोरेको बताए । नियमित खेल खेलेकाले पनि तयारी गर्न नपाएका कारण आफ्नो क्लबले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए । खेल उत्कृष्ट भएको भएपनि समय अपुग भएकाले खेलाडी प्रेसरमा परेको उनले बताए ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर