Aamsanchar

बिर्तामोडलाई बन्दमुक्त गर्न आह्वान

Author Image
शनिवार, फागुन २६, २०७४

बिर्तामोड।

बिर्तामोड नगरपालिकालाई अब सँधैका लागि बन्दमुक्त क्षेत्र बनाउनुपर्नेमा उद्योगी व्यवसायीका नेता तथा सामाजिक क्षेत्रका अगुवाहरुले जोड दिएका छन् ।
निर्वाचनपश्चात मुलुकमा राजनीतिक संक्रमण अन्त्य भई स्थायित्वतर्फ अघि बढेकाले समृद्ध मुलुक निर्माणका लागि बन्द हड्ताल मुख्य बाधक भएको उनीहरुको निष्कर्ष थियो ।

शनिवार संवाद समूह झापाले संयोजन गरेको छलफलमा सहभागी उद्योगी व्यवसायीका नेता, सामाजिक क्षेत्रका अगुवा तथा निवर्तमान सांसद लगायतले बन्दले कसैको हित नगर्ने बताए । उनीहरुले सबै सरोकारवाला एकजुट भएर बिर्तामोडलाई बन्दमुक्त बनाउन आव्हान समेत गरेका छन् । बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा सबै उद्योगी व्यवसायी, राजनीतिक दल, सामाजिक संघ–संस्थाको साझा धारणा तयार गरी बिर्तामोडलाई बन्दमुक्त गर्न उनीहरुको सुझाव समेत छ ।

निवर्तमान सांसद सुधिरकुमार शिवाकोटीले बन्दविरुद्ध सबै एकजुटु हुनुपर्नेमा जोड दिए । बिर्तामोडलाई बन्दमुक्त गर्न अहिले उचित समय आएको बताउँदै शिवाकोटीले बृहत् सम्मेलनमार्फत साझा घोषणापत्र तयारी यो कामलाई अघि बढाउनुपर्ने बताए । उनले सुरक्षित ढंगले व्यवसाय गर्ने वातावरणका लागि सरकारले मुख्य रुपमा पहल गर्नुपर्नेमा जोड दिए । सबैले आ–आफ्नो क्षेत्रबाट आवाज उठाएर बन्दमुक्त बिर्तामोड निर्माणका लागि अघि बढ्नुपर्ने उनको सुझाव छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बिर्तामोडलाई बन्दमुक्त गर्न सबै एकढिक्का भएर अघि बढ्न आव्हान गरे । बन्दको पक्षमा जो उभिन्छ, त्यसको विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा भट्टराईको जोड छ । उनले नगरपालिका र बाणिज्य संघले बन्दमुक्त बिर्तामोडको लागि अगुवाई गर्ने उद्घोष समेत गरे । तर, यसको लागि सबै सरोकारवालाले साथ दिनुपर्ने उनको भनाइ छ ।

उपभोक्ता मञ्च नेपालका जिल्ला अध्यक्ष वेदप्रकाश अग्रवालले बन्दमुक्त गर्न व्यापारीको समूह एकजुट र दह्रो हुनुपर्ने बताए । विरोधको पहिलो हतियारको रुपमा जो कसैले पनि बन्दलाई लिने गरेको बताउँदै अग्रवालले विरोध गर्न पाउने अधिकार छ तर, विरोधको शैली बद्ल्नुपर्नेमा जोड दिए । राजनीतिक दल र प्रशासनले बन्दमुक्त बिर्तामोडका लागि साथ दिनुपर्नेमा जोड दिँदै उनले अब सबै बिर्तामोडवासीलाई अघि बढ्न आव्हान गरे ।

वाणिज्य संघका पूर्वअध्यक्ष रामलोचन न्यौपानेले राजनीतिक दलको भरपर्दो प्रतिबद्धता नआएसम्म बन्दका कारण व्यापारीहरु डराइरहने भएकाले दल जिम्मेवार हुनुपर्ने बताए । राजनीतिक दलले प्रतिबद्धता जनाउने हो भने व्यापारीहरु आफ्नो व्यवसाय निर्वाध सञ्चालन गर्न तयार रहेको बताउँदै न्यौपानेले नगरपालिका र वाणिज्य संघले यस कार्यको अगुवाई गर्नुपर्नेमा जोड दिए ।

नेपाल–भारत मैत्री संघ बिर्तामोडका अध्यक्ष मोहन ढकालले बन्द गर्नेहरुको विरोधका स्वरलाई सरकारले समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए । बन्दले कसैको हित होइन, धेरै नोक्सान गर्ने उल्लेख गर्दै ढकालले बन्दको विकल्प खोज्न सबैलाई आग्रह गरे । उनले बिर्तामोडलाई बन्दमुक्त गर्न सबै सरोकारवालाले अग्रसरता लिनुपर्ने समेत बताए । राजनीतिलाई पेशा व्यवसायको रुपमा लिँदा यस्तो समस्या आउने गरेको बताउँदै ढकालले राजनीतिलाई सेवा बनाउन सझुाव समेत दिए ।

मेची डिलर्स एशोसिएशनका अध्यक्ष राजेन्द्रकुमार थापाले बिर्तामोडलाई बन्दमुक्तभन्दा पनि डरमुक्त बनाउनुपर्नेमा जोड दिए । राजनीतिक दलको सहयोग पाए बिर्तामोडलाई बन्द र डरमुक्त बनाउन सकिने उनको भनाइ थियो । बिर्तामोडको चारै क्षेत्रमा टिम बनाएर प्रशासनको सहयोगमा अघि बढ्ने हो भने बन्दमुक्त गर्न सकिने र कसैको आव्हानमा व्यवसाय बन्द गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । बन्द हड्तालले उद्योगी व्यवसायीहरु ठूलो क्षति व्यहोर्न बाध्य भएको, ऋणको व्याज समेत बुझाउन समस्या उत्पन्न भएको बताउँदै थापाले बिर्तामोडलाई बन्दमुक्त बनाउन डरमुक्त गर्न आव्हान गरे ।

बाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले अहिलेको सरकारप्रति उद्योगी व्यवसायीले धेरै आशा राखेको बताउँदै अब मुलुकमा बन्द हड्तालको औचित्य समेत समाप्त भएको बताए । मुलुकमा आर्थिक क्रान्ति जरुरी रहेको र यसका लागि बन्द हड्तालमुक्त उद्योग व्यवसाय पहिलो आवश्यकता रहेको कार्कीको भनाइ थियो । बन्दविरुद्ध ठूलो जनमत रहेको र यसलाई सही ढंगले प्रयोग गर्न सक्नुपर्ने बताउँदै कार्कीले राजनीतिक दल र प्रशासनले यस कार्यमा महत्वपूर्ण सहयोग गर्नुपर्ने बताए ।

बाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले हल्लाकै भरमा बजार बन्दको अवस्था आउने बताउँदै सबै एकजुट भए बिर्तामोडलाई बन्दमुक्त गर्न सकिने बताए ।
अर्का उपाध्यक्ष नारायण चिमरियाले बिर्तामोड व्यापारको ट्राञ्जिट प्वाइन्ट र हव भएको बताउँदै अब सँधैका लागि यस क्षेत्रलाई बन्द हड्ताल र चन्दा आतंक मुक्त गर्नुपर्ने बताए ।

अर्का उपाध्यक्ष पार्वता खरेल विमलीले सुरक्षाको भरपर्दो व्यवस्था मिलाई बिर्तामोडलाई बन्दमुक्त गर्न हिम्मत गर्नुपर्ने र कुनै समस्या आए संवाद र छलफलबाट हल गर्नुपर्नेमा जोड दिइन् । वाणिज्य संघका सचिव प्रकाश घिमिरेले बन्दले कसैलाई फाइदा नगर्ने हुँदा बन्दमुक्त बिर्तामोड बनाउन तत्काल पहल थाल्नुपर्ने बताउँदै दलहरु जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

बिर्तामोडलाई बन्दमुक्त गर्नका लागि संवाद समूहले निरन्तर संयोजन र सहजीकरणको भूमिका खेलिदिन छलफलमा सहभागी सबैले आग्रह समेत गरेका छन् । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर