(शान्तिराम बस्नेत)
शिवसताक्षी ।
भलिवलको लोकप्रियता कम हुदै गएको अवस्थामा झापाको शिवसताक्षीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगता हुने भएको छ ।
शिवसताक्षी भलिबल क्लबको आयोजनामा आउँदो चैत्र २ गतेदेखि शुरु भई चैत्र ५ गतेसम्म सम्पन्न हुन लागेको उक्त प्रतियोगिता उक्त क्षेत्रकै सर्वाधिक राशीको प्रतियोगिता हो ।
क्लबले दूधेस्थित ध्रुवतारा बोर्डिङ स्कूलमा शनिबार एक पत्रकार सम्मेलन गरी झापा जिल्लाका १४ वटा स्थानीय तहले सो प्रतियोगितामा भाग लिने क्लबका अध्यक्ष भीम लिवाङले जानकारी दिए । उनका अनुसार शिवसताक्षी सहित मेचीनगर, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, कनकाई, दमक र गौरादह नगरपालिका तथा बुद्धशान्ति, झापा, हल्दिबारी, कमल, बाह्रदशी र कचनकवल गाँउपालिकाहरु प्रतियोगितामा सहभागिता जनाउने छन् ।
कुल २ लाख ६२ हजार खर्च हुने बताइएको उक्त प्रतियोगिताको विनरलाई नगद ५१ हजार, ट्रफी र प्रमाण पत्र तथा रनर अपलाई नगद ३१ हजार, ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने बताइएको छ । त्यस्तै खेलका ६ वटै प्लेसका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने अध्यक्ष लिवाङले बताए ।
शिवसताक्षी क्षेत्रमा ठूलठूलाका राशिका फुटबल तथा क्रिकेटहरु प्रतियोगिताहरु भइरहेको अवस्थामा पछिल्लो दिनमा राष्ट्रिय खेलको उपाधि पाइसकेको भलिबल प्रतियोगिता भने शून्य प्रायः भइरहेको अवस्थालाई नियाल्दै स्थानीय स्तरमा लुकेका प्रतिभाहरुको पहिचान, एकाडेमी निर्माण तथा प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई ट्रेनिङ गराई प्रदेश नं. १ स्तरीय भलिबल प्रतियोगितामा सहभागिता गराएर समृद्ध झापालाई चिनाउनु उक्त प्रतियोगिताको मुख्य लक्ष्य रहेको खेल संयोजक राजेन्द्र श्रेष्ठले बताए ।
खेलहरु शिवसताक्षी ११ दूधेस्थित शिवसताक्षी नगर खेलमैदानमा सम्पन्न हुने बताइएको छ ।