Aamsanchar

बिर्तामोडका होटलको खानामा किरा !

Author Image
बिहिवार, चैत १, २०७४

(नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी)

झापा।

बिर्तामोडमा सञ्चालित ठूला होटल नै होटल मूल्याङ्कन सूचकाङ्कमा असफल भएका छन् ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ, बिर्तामोड नगरपालिकाका पदाधिकारीसहित गरिएको अनुगमनका क्रममा त्यस्तो पाइएको हो ।

बुधवार गरिएको अनुगमनका क्रममा ठूला भनिएका होटल नै मूल्याङ्कन सूचकाङ्कमा असफल भएको र भान्सामा विक्रीका लागि तयारी अवस्थामा राखिएको खाद्यान्नमा किरा भेटिएको थियो । अधिकांश होटलले सरसफाई लगायतका मापदण्ड समेत पूरा नगरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिए ।

खाद्यान्न जस्तो विषयमा होटलले मनोमानी गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ । बिर्तामोडमा सञ्चालित १२ भन्दाबढी ठूला होटलको अनुगमन गर्दा कुनै पनि होटलले सर्वोत्कृष्ट श्रेणी ल्याउन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक अर्यालले बताए । उनले भने– बिर्तामोडका कुनै पनि होटलले थ्री ’ स्टार ल्याएका छैनन् । एउटाले ‘टु’ स्टारसम्म पाएको छ । हामी अनुगमन गर्दैछौं । उनले भने– बिहीबारको अनुगमनपछि बिर्तामोडका सबै होटलको वास्तविकता हामी सार्वजनिक गर्छौं ।

सबैभन्दा उत्कृष्ट होटलले (अति उत्तम) थ्री स्टार पाउँछ भने उत्कृष्टले (उत्तम) टु स्टार, सन्तोषजनकले वान स्टारका हरियो रंगको स्टिकर पाउने र सामान्यले पहँेलो स्टिकर पाउने गरेको अनुगमनमा रहेका खाद्य निरीक्षक अर्यालले बताए । बिर्तामोडका अधिकांश होटलले पहेँलो स्टिकर पाएकाले तत्काल सुधार गर्न निर्देशन दिनुका साथै अब उपभोक्ताले पनि त्यस्ता होटल वहिष्कार गर्नुपर्ने सुझाव दिए ।

सरकारले खाद्य स्वच्छताको आधारमा रेस्टुरेन्ट स्तरीकरण मूल्याङ्कन सूचकाङ्क नै जारी गरेर अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरेर चार तहमा वर्गाीकरण गरेर स्टिकरहरु टाँस्ने काम गरिएको छ । केही होटलमा अत्यन्त धेरै सुधार गर्नुपर्ने अवस्था रहेकाले अनुगमनलाई तीब्रता दिने जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले बताए । उनले भने – जिल्लाले विभिन्न समयमा होटलहरुको अनुगमन गर्दै आएको छ । केही होटलहरुले अटेर गरेकाले सरकारले तोकेको मापदण्ड पूरा नगर्ने होटलहरुलाई बन्द गर्नेसम्मको अधिककार रहेको उनको भनाइ छ ।

अनुगमनको क्रममा ९० अंकमाथि ल्याउने होटलले ३ तारा (क) सहितको अतिउत्तम लेखिएको स्टिकर प्राप्त गर्छन् भने ८०देखि ८९ सम्म प्राप्त गरेका होटलले २ तारा –(ख) सहितको उत्तम लेखिएको स्टिकर प्राप्त गर्ने छन् । त्यस्तै ६५ देखि ७९ अंक प्राप्त गरेका होटलले १ तारा (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर प्राप्त गर्नेछन् ।

५० देखि ६४ अंक प्राप्त गर्ने होटलले (घ) सामान्य लेखिएको पहेंलो स्टिकर प्राप्त गर्ने खाद्य निरीक्षक अर्यालले बताए । बाहिरी परिधि सफा तथा फोहोरमुक्त भएको, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाँउ तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको पर्याप्त व्यवस्था, चर्पीहरुको पर्याप्त व्यवस्था भएको तिनीहरुको सफाई, भान्सा, खाना खुवाउने स्थान, काउन्टरमा बसेर धुम्रपान गर्न, खान र थुक्न निषेध गरिएको, पानीको भण्डार तथा प्रशोधन प्रक्रियाहरुको प्रलेखन (डकुमेन्टेसन) तथा परीक्षण गरिएको, गुणस्तरको अभिलेख राखिएको लगायतका ५० वटा मापदण्डका आधारमा होटलहरुको वर्गीकरण गर्ने गरिएको जनाइएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको निर्देशिकाकै आधारमा अनुगमनलाई तीब्र बनाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक अर्यालले बताए ।

मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको बिर्तामोडमा होटलहरुले भने स्वच्छता र शुद्धतामा ध्यान पु¥याउन नसकेको पाइएको होटल व्यवसायी संघ बिर्तामोडकी उपाध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । अनुगमनका क्रममा बिर्तामोडमा रहेको होटल होलिडे होमले मात्रै उत्तम अंक प्राप्त गर्दै टु स्टार स्टिकर प्राप्त गरेको छ । त्यस्तै सन्तोषजनक अर्थात् वान स्टार स्टिकर पाउनेमा बिर्तामोडको संगम स्वीट, होटल डेनियल, हिकोला लगायत रहेका छन् ।

पहेंलो स्टिकर अर्थात् सामान्यको स्टिकर पाउने होटलहरुमा नटराज, आशिर्वाद, फेमेली, गाउँले लगायत रहेको अनुगमनमा संलग्न बिर्तामोड नगरपालिका–५का वडा सदस्य डीआर कडरियाले बताए । उनले अब स्थानीय तहले समेत होटलहरुको अनुगमन गर्ने बताएका छन् । बिर्तामोडका अधिकांश होटलको अवस्था अत्यन्त दयनीय देखिएको भन्दै अब स्वच्छतामा ख्याल नगर्ने होटलहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ– कडरियाले भने । केही होटलको खानामा किरा भेटिएको थियो, केही होटलको भान्सा कोठा फोहोरले डुङ्डुङ्ती गन्हाउने थियो । अनुगमन टोलीले तत्काल सुधार गर्न होटलहरुलाई निर्देशन समेत दिएको बताइएको छ ।

होटलहरुले आफ्नो ब्यवसाय सञ्चालन गर्दा उपभोक्ताको स्वास्थ्यमा समेत ध्यान दिनु जरुरी रहेको भन्दै विभिन्न समयमा गरिएका अनुगमनका क्रममा निर्देशन र सुझाव दिने गरिए पनि त्यसलाई होटल व्यवसायीहरुले सुनेकोनसुन्यै गर्दा उपभोक्ताहरु दुषित खाद्यवस्तु खान बाध्य छन् । एकपटकलाई सुधार गर्ने मौका प्रदान गरिएको र नसुध्रिए पुनः हुने अनुगमनका क्रममा त्यस्ता होटललाई बन्द नै गर्न सकिने क्षेत्रीय खाद्य निरीक्षक अर्यालले बताए ।

उनले बिर्तामोडका होटलले स्वच्छतामा पटकै ध्यान नदिएको भन्दै उपभोक्ता आफैं सचेत हुनुपर्ने बताएका छन् । यअघि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको टोलीले गत कात्तिक ३० गते दमकका २० वटा होटलको अनुगमन गरेको थियो । दमकका होटल भन्दा पनि बिर्तामोडका होटलहरु स्वच्छताको हिसाबमा कमजोर रहेको बताइएको छ ।

अनुगमन टोलीमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नवीन घिमिरे, होटल व्यवसायी संघका पदाधिकारी र सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)