Aamsanchar

हेलो सरकारका सेवा बन्द

Author Image
शुक्रवार, चैत २, २०७४

काठमाडौँ,

जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिनुभयो ।

सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु गरिएको थियो ।

‘‘हामीले केन्द्रबाट नभई क्षेत्रीय कार्यालयबाट पनि सेवा दिएका थियौँ’’, उहाँले भन्नुभयो– ‘‘तर मुलुक संघीयतामा प्रवेश गरेपछि क्षेत्रीय कार्यालय पनि बन्द भएकाले ती ठाउँबाट दिइने हेलो सरकारको सेवा प्रभावित भएको छ ।’’ हेलो सरकार सञ्चालन गर्नका लागि खटिएका क्षेत्रीय प्रशासक कार्यालयका कर्मचारी प्रदेश कार्यालयमा गएपछि हेलो सरकार सेवा सञ्चालन प्रभावित भएको हो ।

विसं २०७१ देखि पोखराबाट क्षेत्रीयस्तरमा पहिलो पटक हेलो सरकार सेवा शुरु गरिएको थियो भने अन्तिममा दिपालयमा शुरु गरिएको थियो । ती ठाउँबाट हेलो सरकारमार्फत गुनासो सम्बोधन नभएपछि त्यहाँका गुनासो सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारबाट नै सम्बोधन हुने गरेको छ ।

प्रमुख उपाध्यायले सात वटै प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षबाट प्रदेशस्तरमा हेलो सरकार पुनःसञ्चालन हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ कात्तिक १७ गते जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर