Aamsanchar

बिर्तामोडका सुन व्यापारी साजन हत्या बारे नयाँ तथ्यको खुलासा

Author Image
आइतवार, चैत ४, २०७४

बिर्तामोड।

बिर्तामोडका सुन व्यापारी साजन मुखियाको हत्या वारे नयाँ तथ्य सार्वजनिक भएको छ ।हत्यामा संलग्न आरोपीले हत्या गर्नुभन्दा एक हप्ता अगाडि योजना बनाएको नयाँ तथ्य सार्वजनिक भएको हो । साजनको हत्याका लागि पारसकुमार देवले ४ लाख रुपैयाँ खर्च गरेको र शव फ्याक्न मात्रै दुई व्यक्तिलाई ५० हजार रुपैयाँ दिएको श्रोतले बताएको छ ।

स्रोत भन्छ– एक हप्ता अघि बिर्तामोडका अर्कै एक सुन व्यवसायीको हत्या गर्ने योजना उनीहरुले बनाए पनि उक्त योजना सफल नभएपछि साजनको हत्या गरेका हुन् । हत्यामा संलग्न भएका मध्ये अझै दुईजना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तीव्र पारिएको बताइएको छ ।

साजनको हत्यामा संलग्न भएको भन्दै प्रहरीले ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित बिर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा–८ घर भई बिर्तामोड–३ सैनिक मोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । सो क्रममा प्रहरीले शुक्रबार साजनको हत्या गर्नु अघि उनलाई वेहोस पार्न प्रयोग गरिएको औषधि र उनले प्रयोग गरेको मोबाइल फोन फेला पारेको थियो ।

स्रोतका अनुसार पारसले जो व्यक्तिलाई चार लाख रुपैयाँ दिएर साजनको हत्या गर्न लगाएका थिए सोही व्यक्तिले पारसबाट थप दश लाख रुपैयाँ लगेका छन् । साजनको हत्या गर्न शुरुमा चार लाख रुपैयाँँमा ‘डिल’ भएको थियो स्रोत भन्छ– ‘साजनको हत्या भएको दृष्य उनले मोबाइलमा खिचेर सार्वजनिक गरिदिने धम्की दिएपछि पारसले उनलाई थप दश लाख रुपैयाँ दिएका हुन् । साजनलाई हत्या गर्न हत्यामा संलग्न व्यक्तिले ‘हन्ड्रेट पर्सेन्ट अल्कोहल’ र ‘क्लोरोफम’ नामक औषधि प्रयोग गरेका थिए । ‘क्लोरोफम’ चिकित्सकले शल्यक्रिया गर्दा वेहोस बनाउन प्रयोग गर्ने औषधि हो ।

साजनलाई ‘क्लोरोफम’ सँुघाएर वेहोस बनाएपछि उनीहरुले साजनको घाँटीमा कार्टुन बाँध्ने सेतो डोरीले कसेको र सोही क्रममा हत्यामा संलग्न भनिएका फरार व्यक्तिले पारसले साजनको घाँटी बान्दै गर्दा फोटो खिचेका थिए– श्रोतले भन्यो– पछि उसले त्यही फोटो देखाएर थप ‘वार्गेनिङ’ गर्दै पारसबाट १० लाख रुपैयाँ लिएका थिए । पारसले आफ्नो कर्तुत खुल्ने डरले उनलाई थप १० लाख रुपैयाँ दिएको बताइएको छ ।

गत फागुन २० गते सवा १ बजेदेखि वेपत्ता बनेका साजनको हत्या आधा घण्टाबीचमै भएको र हत्या लगत्तै पारस आफ्नै पसलमा आएको बताइएको छ । हत्यापछि इलामसम्म साजनको शव फ्याक्न डब्लूबी७४एएम २५८७ भारतीय नम्वर प्लेट भएको गाडीको प्रयोग गरेर गएका चिरञ्जीवी ओली र दीपेश पौडेलले ५० हजार रुपैयाँ लगेको स्रोतले जनाएको छ ।

साजनलाई हत्या गर्नुअघि उनीहरुले व्यक्तिगत मोबाइल फोन समेत साजनलाई बोलाउन प्रयोग गरेका थिएनन्– प्रहरी स्रोत भन्छ– अन्य कसैको मोबाइलबाट साजनलाई पारसले सम्पर्क गरेर पारसको पुरानो घरसम्म पु¥याइएको थियो,साजनलाई पारसको घरमा पु¥याएको आधाघण्टामै उनको हत्या भएको हो ।

साजनलाई हत्या गर्न ‘हन्ड्रेट पर्सेन्ट अल्कोहल’ उनीहरुले कोठामा शुरुमै राखेका थिए तर उनीहरुले साजनले थाहा पाउने डरले ‘हन्ड्रेट पर्सेन्ट अल्कोहल’ प्रयोग नगरी ‘क्लोरोफम’ नामक औषधि सुँघाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताइएको छ । साजनलाई रेडवुलमा ‘हन्ड्रेट पर्सेन्ट अल्कोहल’ खुवाउन प्रयास गरे पनि उनले थाहा पाउने डरले उनीहरुले ‘क्लोरोफम’ नामक औषधि सुँघाएको बताइएको छ । ‘क्लोरोफम’ सुँघाए लगत्तै साजन बेहोस भएपछि उनीहरुले साजनको हात पछाडि फर्काएर बाँधेको र घाँटी कसेर हत्या गरेको बताइएको छ ।

पसलबाट एकाएक बेपत्ता बनेका साजन बेलुकासम्म घर नफर्किएपछि उनको खोजीका लागि उनकी श्रीमती रबीना मुखिया पारसको पसलसम्म पुगेकी थिइन् । तर, उनी पारसको पसलमा पुग्दा पसल बन्द थियो । केहीवेर बसेपछि पारस पसलमा आएका थिए– उनकी श्रीमती रविनाले भनिन्– मलाई देख्ने वित्तिकै शुरुमा त हेलमेटको सीसा झारेर बाइक फर्काएर पारस भाग्न खोज्दै थियो, मैले नै रोकेर तपाईसँग मेरो काम छ एकछिन आउनुस् भने पछि उनी उभिएका थिए ।

मेरो श्रीमान तपाईको पसलमा आउनु भएको थियो, खै कता जानुभयो भनेर सोधेँ– रवीनाले भनिन् – ऊ कालोनिलो हुँदै अली आत्तिएको स्वरमा ‘मेरोमा आएको छैन, खै कता गयो त, भरे आउँछ होला नि’ भनेर पन्छिन खोज्यो । मैले फोन पनि नलाग्ने बताएपछि व्याट्री सकिएर स्वीच अफ भयो होला अथवा झरेर बिग्रिन पनि सक्छ । तपाई घर जानुस् न भनेर उत्तर दियो– उनले भनिन् ।

साँझसम्म पनि साजन घर नफर्किएपछि उनको खोजीका लागि रवीनाले सुनचाँदी व्यवसायीलाई आग्रह गरिन् । लगत्तै सुनचाँदी व्यवसायी र रवीनाले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनको खोजी कार्य अघि बढाएको थियो । सो क्रममा प्रहरीले चारआलीबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, उनीबाट सो कार्य नभएको खुलेपछि प्रहरीले उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको जिम्मा लगाएको थियो । उनी अहिले पनि प्रहरी हिरासदमा छन् । उनको नाम प्रहरीले गोप्य राखेको छ ।

यता इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले हत्यामा संलग्न भनिएका अरु केही व्यक्तिको खोजी कार्य तीव्र पारिएको बताएका छन् । उनले साजनले पारसको अत्यधिक विश्वास गरेका कारण ज्यान गुमाएको भन्दै जतिसुकै विश्वास गरिएको व्यक्ति भए पनि व्यक्तिगत सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन् ।

जति नजिकको व्यक्ति भए पनि साजनले जस्तै छिट्टै साथीको विश्वासमा पर्दा ज्यान जानसक्छ त्यसैले म सबैलाई आग्रह गर्छु जतिसुकै नजिकको व्यक्ति भए पनि आफ्नो व्यक्तिगत सुरक्षाका लागि केही न केही सजगता अपनाउनुपर्छ– प्रहरी नायव उपरीक्षक कोइरालाले भने– नजिकको र अत्यन्त विश्वासिलो पात्र पारस बनेका कारण साजनले विश्वास गर्दा उनको हत्या भएको अनुसन्धानका क्रममा देखिएको छ ।

स्रोत भन्छ– प्रहरीले रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक देवलाई हत्यामा संलग्न भएको आशंकामा छानविन गर्न शुरु गरेपछि उनले जिल्ला अदालत झापामा आफ्नो मौलिक हक हनन भएको भन्दै निषेधाज्ञा जारी गरी पाउँ भनी निवेदन दिएका थिए । तर, प्रहरीले उनलाई सोही दिन पक्राउ गरेको थियो । प्रहरीले लगत्तै उनीहरुलाई हत्यामा संलग्न भएको भन्दै सार्वजनिक गरेको थियो ।

मुखियाको हत्यामा संलग्न आरोपीलाई क्षेत्रीय अनुसन्धान व्यूरो विराटनगरबाट आएको टोलीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा रहेर तथ्य र प्रमाणको आधारमा पक्राउ गरेको थियो । साजनको हत्यामा संलग्न भनिएका मध्ये बिर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय पौडेललाई प्रहरीले पक्राउ गरेपछि उनैले साजनको शव फालेको ठाउँ देखाएका थिए । एक हप्ता अघि नै उनको हत्याको योजना बनेकाले सो अवधिमा उनीहरुले साजनसँग टेलिफोन सम्पर्क समेत घटाएको र सीसी क्यामेरा समेत बिगारेको बताइएको छ । साजन वेपत्ता बनेको दिन पनि उनीहरुले सीसी क्यामेराको निगरानी नहुने ठाउँबाट उनलाई स्कुटरको प्रयोग गरेर पारसको पुरानो घर पु¥याएको प्रहरीले जनाएको छ ।

साजनको हत्या पछि उनीहरुले शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालेको प्रहरीले जनाएको छ । सो ठाउँमा त्यहाँका स्थानीयवासीले फोहोर फ्याक्ने गरेकाले शवको दुर्गन्घ नफैलिने ठानेर साजनको शव त्यहाँ फालेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)