Aamsanchar

बिवाह भएको भोलिपल्टै बेहुला बेपत्ता ! न्यायिक इजलासमा डीएसपीको हस्तक्षेप

Author Image
सोमवार, चैत ५, २०७४

[नरेन्द्र ढकाल /नारायण अर्याल]

बिर्तामोड।

बिवाह भएको भोलिपल्ट नै बेहुला फरार होला भनेर कसैले कल्पना समेत गरेको हँुदैन । तर, झापाको बुद्धशान्ति गाउँपालिकामा बिवाह गरेको भोलिपल्टै एक व्यक्ति बेहुली छाडेर फरार भएको घटना सार्वजनिक भएको छ ।

१० महिना अघि फूलमाला गरेर गतफागुन २० गते धुमधामका साथ बिवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का राकेश रेग्मी बेहुली छाडेर भोलिपल्टै फरार भएका थिए । सँगै बाच्नेसँगै मर्ने बाचा गरेर लगन गाँठो कसेका रेग्मीले ती किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको अधिकारकर्मीहरुको बुझाइ छ ।

बिवाह गरेको भोलिपल्ट अर्थात् फागुन २१ गते दिउँसोबाट राकेश फरार भए पनि बेहुली पक्षलाई भने ढिलो गरी मात्र जानकारी गराइएको थियो । स्थानीय बुद्धशान्ति गाउँपालिकामा अध्यापन गराउने बेहुलाका बुबा लालप्रसाद रेग्मीले छोरा बेहुली छाडेर फरार भएको बताउँदै फेला पर्नासाथ प्रहरीमा बुझाएको बताए । हाल इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेको प्रहरी स्रोतले जनाएको छ । यौन क्षमता नै नभएका राकेश समलिङ्गीप्रति आर्कषित हुने प्रहरीले उल्लेख गरेको छ ।

२९ वर्षीय राकेशले नियोजित तवरले महिला हिंसा गरेको र यसमा उसको परिवारको पूर्ण संलग्नता रहेको बेहुली पक्षका आफ्न्तहरुको भनाइ छ । कुनै पनि महिलाको अस्मितामाथि मात्रै होइन उनका अभिभावकको प्रतिष्ठामा नै असर पार्ने काम गरेको भन्दै रेग्मी परिवारको तिखो आलोचना गरिएको छ ।
बेहुला बेपत्ता भए लगत्तै बेहुली पक्षलाई जानकारी नगराउनु, बेहुलीले लगाएका गरगहना राति नै खोल्न लगाउनु तथा बेहुलीलाई कोठामा बन्धक बनाउनु अपराध भएको भन्दै उक्त घटनामा परिवारको संलग्ना प्रष्ट रुपमा देखिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

आइतबार बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा बोल्दै स्थानीय जनप्रतिनिधि तथा महिला अधिकारकर्मी भगवती नेपालले यो एक महिलामाथि मात्र नभई समग्र महिलाहरुको अस्मितामाथिको खेलबाड हो भन्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् । उनले बेहुलाका बुबा लालप्रसाद रेग्मी शिक्षक भएर पनि घटनालाई ढाकछोप पार्न उद्धत रहेको भन्दै महिलामाथिको जघन्य अपराधमा परिवारको मिलेमतो रहेको प्रष्ट भएको बताइन् । उनले जनप्रतिनिधिले समस्याको विषय र समाधानको लागि लालप्रसादको घरमा जाँदा समेत आफ्नो कुरालाई गम्भीरताका साथमा नलिएको उल्लेख गरिन् । फरार बेहुला ३ दिनपछि मात्रै फेला परेका थिए ।

त्यस्तै न्यायिक इजलासमा बोल्दै सामुदायिक प्रहरी सेवाकेन्द्र बुधबारेका अध्यक्ष मनोरथ तिवारीले यो घटना महिलामाथिको जघन्य अपराध भएको बताउँदै यस्ता पुरुषलाई महिला हिंसा अन्तर्गत कारबाही हुनुपर्ने बताए । शारीरिक रुपमा अशक्त भएको भए शुरुमा नै जानकारी गराउनुपर्ने भन्दै नियोजित तवरले कसैको इज्जतमाथि खेलबाड गर्न नहुने उनले बताए । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ– तिवारीले भने ।

न्यायिक इजलासमा बोल्दै बेहुलाका मामाले यो महिला हिंसा नै भएको भन्दै दोषीलाई कडा कारबाही गरिनुपर्ने बताए । उनले आफ्नो भाञ्जामा ‘सेक्सुअल समस्या’ रहेको थाहा भएको र प्रहरीले पनि सोही समस्या रहेको बताएको उल्लेख गरे । उनले बिवाह अघि नै यस्तो समस्याको बारेका परिवार तथा बेहुलीलाई नै जानकारी गराएको भए यत्रो समस्या नहुने भन्दै सामाजिक रुपमा आफ्नो प्रतिष्ठा गुम्ने डरले कुरा नखोलेको हुन सक्ने बताए ।

यता बेहुला बेपत्ता भए लगत्तै छोरो अपहरणमा परेको भन्दै उनका बुबाले प्रहरीमा उजुरी गरेका थिए । बेहुली पक्षले नै आफ्ना छोरालाई बेपत्ता बनाएको उनले आरोप लगाएका थिए । तर, बेहुलाका मामाले राकेश अपहरणमा नपरेको तथा सुनका कुनै पनि गरगहना नहराएको इजलासमा जानकारी गराएका थिए । उनले महिलाको अस्मितामाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै कारबाही गरिनुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै इजलासमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले यो महिलामाथिको जघन्य अपराध हो भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । केटी पक्षका आफ्न्तहरुले महिलाको अस्मितामाथि गम्भीर खेलबाडका साथै उनको परिवारको चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका थिए । गल्ती भएको स्वीकार गरेका राकेशका बुबा लालप्रसादले आफ्नो कुनै संलग्नता नभएको स्पष्टीकरण दिएका थिए । उनले छोरामा यौन क्षमता नै नभएको बल्ल थाह पाएको बताए ।

न्यायिक इजलासमा डीएसपीको हस्तक्षेप

संविधानले स्थानीय निकायलाई स्थानीयस्तरका मुद्दाहरु मिलाउन विशेष अधिकार नै दिएको छ । सोही ऐन अनुसार हरेक स्थानीय तहमा न्यायिक इजलासहरु रहेका छन् । आइतबार बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा बेहुली छाडेर फरार भएका बेहुलाको विषयमा छलफल चलिरहेको थियो । करिब १ बजे बुद्धशान्ति गाउँपालिकामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक डीएसपी टंकप्रसाद भट्टराई पुगे । छलफलमा प्रवेश गरे लगत्तै डीएसपी भट्टराईले यहाँ समस्याको समाधान नहुने भन्दै अदालत जान सुझाव दिए ।

त्यस लगत्तै न्यायिक इजलासमाथि डीएसपी भट्टराईले हस्तक्षेप गरेको भन्दै उनको बिरोध गरिएको थियो । स्थानीय तहको अदालतको अपहेला गरेको भन्दै इजलासमा सहभागीहरुले उनले माफी माग्नुपर्ने माग गरेका थिए । न्यायिक समितिकी अध्यक्ष एवम् गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलले स्थानीय न्यायिक अदालतमाथि कसैले हस्तक्षेप गर्न नहुने बताइन् ।

त्यस लगत्तै डीएसपी भट्टराई त्यहाँबाट बाहिरिएका थिए । केही समय विवाद भए पनि डीएसपी हिँडेपछि पुनः इजलास सुचारु भएको थियो । इजलासमा सहभागी सबैले डीएसपी भट्टराईको बिरोध गरेका थिए । यसैबीच विबाद बढे लगत्तै झापाका प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले डीएसपी भट्टराईलाई हस्तक्षेप नगर्न भन्दै तत्काल बाहिरिन निर्देशन दिएका थिए ।

स्थानीयको नाराबाजी

बुद्धशान्ति गाउँपालिकामा आइतबार छुट्टै माहोल देखिन्थ्यो । सबैको एउटै चासो थियो, बिहे गर्ने र भोलि पल्टै बेहुली छाडेर भाग्नेलाई के कारबाही होला ? यो घटना एक व्यक्तिको मात्र नभएको भन्दै स्थानीयले यो समग्र महिलामाथिको हिंसा भएको बताएका थिए । उनीहरुले खुल्ला चौरमा बहस गर्न तथा केटालाई पनि उपस्थित गराउन माग गर्दै नाराबाजी गरेका थिए ।

कसैको इज्जतमाथि खेलबाड गर्न नपाइने भन्दै स्थानीयले त्यस्ता ब्यक्तिलाई सामाजिक बहिस्कार गर्नुपर्ने माग गरेका थिए । महिला हिंसा बढिरहेका बेला भएको घटना महिला हिंसा नै हो भन्दै दोषीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

सामान्य बोलचाल मात्रः बेहुली

१० महिना अघि फूलमाला गरेर गत फागुन २० गते बिवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र फूलमाला पछि फोनमा कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताएकी छन् । उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको, त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा बेलैमा सुतेको बताइन् ।

उनले आफूले केही समय फेसबुक चलाएको जानकारी दिइन् । उनले केटा बेपत्ता भए लगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको बताइन् । उनले यो महिला हिंसाको पराकाष्टा हो भन्दै यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने माग गरेकी छन् । केटा ३ वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीका लागि गएको जनाइएको छ । उनी बिवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए ।

यसैबीच बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा भएको छलफल बिना निष्कर्ष सकिएको छ । आज सोमबार पुनः छलफलमा बस्ने सहमति भएको न्यायिक समितिकी अध्यक्ष भूर्तेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)