Aamsanchar

स्थानीय तह स्तरीय नकआउट भलिबलको उपाधि झापाले चुम्यो

Author Image
सोमवार, चैत ५, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


झापाको शिवसताक्षीमा सम्पन्न झापा जिल्ला स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले चुमेको छ ।

शिवसताक्षी–११ दूधेस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा उसले बिर्तामोड नगरपालिकालाई २४–२६, २५–१९, १९–२५, २५–२१ र १५–११ अंक ल्याउँदै ३–२ को अत्यन्तै संघर्षपूर्ण जीत हासिल गरेको हो ।

यो जीतसंगै झापा गापाले नगद ५१ हजारका साथै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बिर्तामोड नगरपालिकाले ३१ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ६ विधा अन्तर्गत वेस्ट स्पाइकरमा शिवसताक्षी नपाका विवेक फुँयल, बेस्ट ब्लकर तथा लिब्रो बिर्तामोड नपाका बबिन चौहान र दिनेश लामा, बेस्ट लिफ्टर कलम गापाका रोनिश राई, बेस्ट क्वीकर गौरादह नपाका दिपेन मल्लिक तथा बेस्ट सर्भिस तथा टुर्नामेन्ट अफ द सिरिज झापा गापाका आशिष कार्की घोषित भए ।

यसैबीच भलिबल खेल मार्फत शिवसताक्षीलाई पहिचान गरेको भन्दै झापा शिवगञ्जका पूर्वाञ्चल खेलाडी जनकलाल पौडेललाई दोसल्ला, सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नपाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल, सुरुङ्गा नपाका मेयर राजेन्द्र पोखरेल लगायतले सम्मान गरेको थिए । उनको सहभागितामा पूर्वाञ्चल टीमले महत्वपूर्ण उपाधिहरु चुमेको थियो ।

गत चैत्र २ गतेबाट शुरु भएको उक्त भलिबल नकआउट भलिबल प्रतियोगिता उक्त क्षेत्रकै सर्वाधिक राशीको भलिबल प्रतियोगितामा झापा जिल्लाका १४ वटा स्थानीय निकायका टीमहरु सहभागी भएका थिए ।

मेयर ट्वाइलेटमा, पुरस्कार वितरणमा ढिलाई

जारी प्रतियोगिता फाइनल खेलको प्रमुख अतिथिका रुपमा शिवसताक्षी नपाका प्रमुख मेयर चन्द्रकुमार रहेका थिए । आफ्नो जीतभएपछि झापा गाँउपालिकाका खेलाडीहरु पुरस्कार लिनको लागि निकै उत्साहित भएर लामवद्ध भएर लाइनमा बसेका थिए । यता उद्घोषक पदम कुँवरले प्रमुख अतिथिलाई पुरस्कार वितरण गर्नका लागि अनुरोध गर्दा मेयर नभएपछि सबैजना तिनछक्क परे । अन्त्यमा, मेयर शौचालय गएको थाहा भएपछि क्लबका अध्यक्ष भीम लिवाङ खोज्नलाई नजिकैको घरतिर लागे भने वडा नं. ११ का वडाध्यक्ष चैं लगनकै बेला हगन भन्दै हाँस्दै थिए ।

पुरस्कार मेयरमा ढिलाई हुने भएपछि आयोजकले अर्का विशिष्ट अतिथिद्वय सुरुङ्गा नपाका मेयर राजेन्द्र पोखरेल, शिवसताक्षी नपाकी उपमेयर भोजकुमारी नेपाल, शिवसताक्षी वडा नंं ११ का अध्यक्ष भैरव श्रेष्ठ लगायतको हातबाट प्रमाणपत्र तथा मेडल वितरण गरायो भने एकछिन कुरेरै भएपनि मेयर शेर्माद्वारा नै विजेतालाई नगद पुरस्कार र शिल्ड वितरण भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर