(नरेन्द्र ढकाल)
बिर्तामोड ।
सरकारले २० वर्ष पुरानो गाडी चलाउन निषेध गरेसँगै झापामा पनि प्रहरी प्रशासनले अवधि पूरा गरेका गाडीहरु नियन्त्रणमा लिन थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार सोमबारसम्ममा ८ वटा सवारी नियन्त्रणमा लिइएको छ । जिल्लाभरि सबै ट्राफिक प्रहरी युनिटलाई २० वर्ष पुराना गाडी नियन्त्रणका लागि निर्देशन दिएको बताइएको छ । नियन्त्रणमा लिइएका गाडीहरु यातायात व्यवस्था कार्यालयलाई बुझाउने काम भइरहेको खड्काले जानकारी दिए ।
व्यवसायी आफैँले पुराना गाडी बुझाउँदा सकारात्मक सन्देश जाने भएकाले पहिलो प्राथमिकतामा अनुरोध गरिएको उनले बताए । उनका अनुसार ना १ ख ९६२५ नम्बरको ट्याङ्कर, मे १ ख ११४,मे १ ख ४४१,मे १ ख ४६६ र मे १ ख १२३६ नम्बरको ट्रक, बा १ ख ४०३१ नम्बरको मिनि ट्रक, मे १ ख १३७४ र मे १ ख ७१७ नम्बरको बस नियन्त्रणमा लिएर आवश्यक कारबार्हीका लागी यातायात कार्यालय मेचीमा बुझाइएको छ ।
यातायात व्यवस्था विभागको निर्णय अनुसार चैत १ गतेबाटै २० वर्ष पुराना सवारीहरू सडकमा गुडेको भेटिनासाथ नियन्त्रणमा लिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।
प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सप्तरी र सिरहा समेत हेर्ने कार्यक्षेत्र भएको पूर्वक्षेत्रीय ट्राफिक कार्यालयले सबै जिल्लामा गुड्ने पुराना सवारी नियन्त्रण लिने मिसन जारी रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । पुराना सवारीले दुर्घटना र प्रदूषणको दुवै खतरा रहेकाले त्यसको तत्काल नियन्त्रण र नियमनको लागी यातायात व्यवस्था विभागले चैत १ गतेपछि गुडाउन नपाउने निर्णय गरेकाले यसको कार्यान्वयनमा आफुहरु लागेको ट्राफिक प्रहरी प्रमुख राईको भनाई छ । उनले झापामा जिल्ला प्रशासन कार्यालय, यातायात ब्यवस्था कार्यालय मेची र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा अनुगमन सुरु गरेको जानकारी दिए ।
पूर्वका १६ जिल्ला हेर्ने पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयमा जनशक्ति अभावले सबै अवैध सवारी नियन्त्रणमा छिटो काम गर्न भने असहज भएको छ । पूर्वमा ४ सय ४१ मात्रै ट्राफिक प्रहरी भएकोले सबै पूर्वका हिमाल, पहाड र तराईका सवारी चेकिङमा केहि असहज भएको पूर्व क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
यातायात कार्यालय मेचीका अनुसार साना, मझौला तथा ठुला सवारी गरि जम्मा १५ सय ३४ सवारी बीस वर्ष पहिले दर्ता भएका छन् । यातायातको तथ्याङ्क अनुसार ट्राफिकले सवारी नियन्त्रणमा लिँदा सहज र छिटो हुने भएकाले यातायात कार्यालयसंगकै संयुक्त अनुगमनका लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहेका सहायक निरीक्षक खड्काले बताए ।
सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन बन्द गर्ने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले देशैभर अनुगमन टोली परिचालन गरेको छ । विभागका अनुसार देशभर २७ वटा समूह निर्माण गरी अनुगमन थालिएको छ । २० वर्ष पुराना सवारीसाधन चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने विभागका महानिर्देशन रूपनारायण भट्टराईले जानकारी दिएका छन् ।
२०७३ फागुनदेखि काठमाडौँबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यका बाहिरका रुटमा सञ्चालन भएपछि विभागले देशभर रोक लगाएको हो । चैतमा २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्ने इजजात रोकेको छ । पुराना सवारीको नामसारी रोकिने र बिक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको विभागले जनाएको छ ।
देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेको विभागले जनाएको छ । हाल विभागले नयाँ सवारीसाधन दर्ता गर्दा पनि २० वर्ष आयु तोक्ने गरेको छ । पुराना गाडीले यात्रु बोक्न निकै जोखिम हुने र वातावरण प्रदूषण पनि हुने हुँदा निषेध गरिएको हो । साथै सहरी सुन्दरतालाई पनि ध्यानमा राखिएको विभागले जनाएको छ । पुराना गाडी नियन्त्रण नगर्दा मर्मतसम्भार गरेर चलाउने गरेको र दुर्घटना हुने विभागले दाबी गरेको छ ।
यसैबीच यातायात व्यवसायीले भने सरकारी निर्णय मान्य नहुने बताएका छन् । चल्न नसक्ने सवारीसाधनलाई आफूहरू हटाउन तयार रहेको तर एकतर्फी सरकारी निर्णय मान्य नहुने ब्यवसायीको भनाई छ । झापाका दमक, सुरुङगा, बिर्तामोड, धुलाबारी बुधबारे, भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा पुराना गाडीहरुको निगरानी थालिएको ट्राफिक प्रहरीले जनाएको छ । विभिन्न स्कुल तथा कलेजका पनि २० वर्ष नाघेका पुराना गाडी सञ्चालनमा रहेको जानकारी आएकाले अब स्कूलका गाडीको पनि अनुगमन गरिने ट्राफिक सहकायक निरीक्षक खड्काले जानकारी दिए ।
दैनिक रुपमा सवारी दुर्घटना बढ्नुमा सडकको दुरावस्थाका साथै पुराना गाडी पनि एक भएकाले २० वर्ष नाघेका सवारीमा सरकारले नै प्रतिबन्ध लगाएको हो ।