Aamsanchar

अवैध मेनपावरमा प्रहरी ‘अप्रेसन’ /बिर्तामोडमा भागाभाग

Author Image
बुधवार, चैत ७, २०७४

बिर्तामोड।

अवैध रुपमा मेनपावरको शाखा कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरिरहेको भन्दै बैदेशिक रोजगार विभागले झापाको बिर्तामोडसहित पूर्वी क्षेत्रमा छापा मारेको छ ।

बिर्तामोड लगायत पूर्वका दमक, इटहरी, धरान, विराटनगरमा अनधिकृत रुपमा मेनपावर सञ्चालन भएको र ती मेनपावरले बैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई ठगी रहेको उजुरी परेपछि विभागले कडाइ गर्न शुरु गरेको हो ।

विभागको टोलीले बिर्तामोडमा छापामार्दै अनधिकृत रुपमा सञ्चालित मेनपावरलाई बन्द गराउन जिल्ला प्रशासन कार्यालय झापालाई आग्रह गरेको विभागका अधिकृत टंक चौलागाँई शर्माले पूर्वाञ्चललाई बताए ।

विभागको टोलीले अनुगमनका क्रममा बिर्तामोडमा सञ्चालित अधिकांश मेनपावर अनधिकृत रुपमा सञ्चालनमा रहेको पाएपछि केही मेनपावरमा छापा मारे लगत्तै अन्य मेनपावर व्यवसायी व्यवसाय बन्द गरेर भागेका थिए ।

विभागको टोली फर्किए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाले त्यस्ता मेनपावरमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले याना म्यानेजमेन्ट, न्यूएसओएस, अलरहिम मेनपावरमा छापामारेको हो । प्रहरीले सो मेनपावरबाट एक जना सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीका अनुसार याना म्यानेजमेन्टका सञ्चालक रोशन उप्रेती पक्राउ परेका हुन् भने अलरहिम र न्यूएसओएसका दुई महिला प्रहरी हिरासतमा रहेका छन् । ती मेनपावरले विभागमा दर्ता भएको कुनै कागजात देखाउन नसकेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए ।

यता विभागको टोलीले बिर्तामोडमा १२ वटा मात्र शाखा कार्यालय रहेको र तीन दर्जनको हाराहारीमा एजेन्ट रहेको बताउँदै अन्य सबै मेनपावर व्यवसायीले अनधिकृत रुपमा मेनपावर सञ्चालन गरिरहेको जनाएको छ ।

अनुगमनका लागि आएका शर्माले पूर्वाञ्चलसँग कुराकानी गर्दै भने– एजेन्टले कलेक्सनको काम गरेर आफ्नै मेनपावर कम्पनीमा पासपोर्ट र नामावली पठाउने काम गर्नुपर्ने हो, तर झापामा एजेन्टको नाममा शाखा खोलेर मनोमानी रकम उठाइरहेका रहेछन् ।

जिल्ला प्रशासन कार्यालय झापासँग समन्वय गर्दै गरिएको अनुगमनका क्रममा मेनपावर व्यवसायीको भागाभाग चलेपछि टोली फर्किएको हो– उनले भने– शाखा र एजेन्टको निगरानी राख्ने काम विभागले निरन्तर गर्छ ।

बैदेशिक रोजगारीमा जाने युवाले १० हजार रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताउँदै अनधिकृत रुपमा रकम लिएको पाए विभाग समक्ष खबर गरिदिन अधिकृत शर्माले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)