Aamsanchar

आयोजना गुणस्तरमा सम्झौता नगर्न आग्रह

Author Image
बिहिवार, चैत ८, २०७४

खोटाङ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री गुरुङले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न प्रविधिको प्रयोग सबैभन्दा प्रभावकारी रहेको बताउनुभएको छ ।

आयोगले आज दिक्तेलमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले विकासनिर्माणका योजनामा मात्रै गुणस्तर निर्धारण भयो भने आधा भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नुभयो ।

आयुक्त गुरुङले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिँदै भन्नुभयो, “खोटाङमा मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राजमार्गलगायत विभिन्न आयोजना निर्माणाधीन छन् । ती आयोजना छिटो सम्पन्न गर्ने नाममा गुणस्तरसँग सम्झौता गर्नुभएन”, उहाँले भन्नुभयो । आयुक्त गुरुङले हलेसीको दीर्घकालीन विकासमा लाग्न स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागीले आयोग अझै जनस्तरसम्म पुग्न नसकेको आरोप लगाएका थिए । उनीहरुले जिल्लाबाट आयोगमा गरिएका कतिपय उजुरीमा हालसम्म पनि सुनुवाइ नभएको दुखेसोसमेत पोखे ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर