Aamsanchar

निर्वाचनमा पार्टीको पराजयलाई गम्भीर रुपमा लिनुपर्ने

Author Image
बिहिवार, चैत ८, २०७४

नुवाकोट,

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो जिल्ला सम्मेलन सदरमुकाम विदुरमा निर्वाचित जिल्ला कोषाध्यक्षहरुलाई पार्टीको महासमितिमा प्रतिनिधित्व गराउनुपर्ने मागसहितका ११ बुँदे निर्णय गर्दै आज सकिएको छ ।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको दोस्रो सम्मेलनले बैंक खाता नखोलेका जिल्ला शाखाले तीन महिनाभित्र बैंक खाता खोल्ने र पार्टीको आयव्यय पारदर्शी राख्न कोषलाई बैंकिङ प्रणालीमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस्तै पार्टीका नेतृत्वदेखि सबै तह पार्टीको विधानअनुसार चल्नुपर्ने सम्मेलनले निचोड निकालेको छ । सम्मेलनले तीनै तहको निर्वाचन कांग्रेसको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएकामा पार्टी नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनको गहन समीक्षा गर्नुपर्ने जनाएको छ । सम्मेलनले निर्वाचनमा पार्टीको पराजयलाई नेतृत्वले गम्भीर रुपमा लिनुपर्ने र पार्टीलाई अझै सशक्त बनाउनुपर्ने निर्णय गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भ्रातृसंगठनलाई पूर्णता दिन माग गरेको छ । यस्तै पार्टीका विभागलाई पूर्णता दिएर सक्रिय गराउन माग गरिएको छ ।

सम्मेलनले पार्टीको केन्द्रीय तहबाट नै एकताको सन्देश प्रवाहित गराउनाका साथै पार्टीका सबै संरचनालाई वैधानिक रुपमा सञ्चालन गराउन जोड दिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो ।

सम्मेलनले केन्द्रीय कार्यसमितिमा सबै क्षेत्र, लिङ्ग र वर्गको सहभागिताका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या विस्तार गर्न माग गरेको छ । सम्मेलनले कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आगामी वर्ष पोखरामा गर्ने निर्णय गरेको छ ।

सम्मेलनको दोस्रो दिन आज कार्यक्रममा सहभागी कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले पार्टीका कमजोरीलाई सुधार गर्दै जानुपर्ने र निर्वाचनको सूक्ष्म समीक्षा गर्नुपर्ने बताउँदै महासमिति बैठकको मिति चाँडै तोक्नु पर्ने र पार्टीको भावी रणनीति तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर