लहान,
लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई लक्ष्य गरी एकीकृत वस्ती निर्माण गर्न लागेको छ ।
अतिविपन्न, गरिब र दलित परिवारलाई लक्ष्य गरेर लहान नगरपालिका– ५, ११ र २१ मा एकीकृत बस्ती निर्माण गर्न लागेको लहान नगरपालिकाका प्रमुख मुनी साहले जानकारी दिनुभयो ।
एकीकृत बस्तीमै सामुदायिक भवन, बाल विकास कक्षसमेत निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । एकीकृत बस्ती निर्माण कार्यक्रमअन्तर्गत नगरपालिका– ५, ११ र २१ स्थित ऐलानी जग्गामा बस्दै आएका विपन्न दलित परिवारका लागि पहिलो चरणमा ५० वटा व्यवस्थित एक तल्ले पक्की घर निर्माण गरिने साहले बताउनुभयो ।
“आगामी वर्षमा थप ५० पक्की घर निर्माण गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो ।
यस्तै अत्यधिक ध्वनी प्रदूषण गर्ने डिजे बजाउन आजदेखि लहान नगरपालिकाभित्र प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउन अस्पतालचोकदेखि सिङराहीसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा एक बिघा जग्गा भाडामा दिने वा जग्गाधनीले आफ्नै निगरानीमा अस्थायी बसपार्क सञ्चालन गर्ने अनुमति दिने योजना छ ।