Aamsanchar

झापामा नै हुन्छ अनेक, कतै भू–तपस्या, कतै पुराण

Author Image
शुक्रवार, चैत ९, २०७४

बिर्तामोड।

झापाका विभिन्न स्थानमा यतिखेर विभिन्न उद्देश्य राखेर पुराणहरु सञ्चालन भइरहेका छन् ।  पछिल्लो समय आध्यात्मिक चेतनामा वृद्धिका कारण पुराण लगाउनेक्रम बढेर गएको छ । राम नवमीको अवसर पारेर चैते दशैंको नवरात्रमा विशेष गरेर देवीका शक्ति पीठहरुमा पुराणहरु भइरहेका छ । झापाको शिवसताक्षी–१० स्थित कनकाई माईको तटमा दिव्यपथ महिला सरोकार समाजको आयोजनामा नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायज्ञ भइरहेको छ ।

दिव्यपथ महिला सरोकार समाजको आयोजनामा भइरहेको महायज्ञमा समाजकी अध्यक्ष विदुषी बृन्दादेवी बराल निरौला गत चैत ४ गते आइतबारदेखि नौ दिने भू–तपस्यामा बसिरहेकी छिन् । जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आशीर्बचन दिएपछि उनी भू–तपस्याका लागि पूर्वीद्वारबाट जमिनमुनि पसेको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

नौ फिट गहिरो खाल्डोभित्र बसेर उनले नौ दिनसम्म निराहार भू–तपस्या गर्ने सुवेदीले बताए । नौ फिट गहिरो खाल्डोलाई माथिबाट बाँस लगाएर प्लाष्टिकले छोपिएको छ । त्यसमाथि प्लाइउड ओछ्याएर प्लाइउडमाथि कालो प्लाष्टिक ओछ्याएर माटोले पुरिएको छ । सो माटोमा जमरा छरिएको छ । सो जमरा महायज्ञको क्रममा प्रयोग हुने सुबेदीले जानकारी दिए ।

भू–तपस्यामा बस्नुअघि बिदुषी वृन्दा बराल निरौलाले माइधारमा कन्या गुरुकूल र निराश्रित महिला तथा अनाथ बालआश्रम स्थापना गर्ने लक्ष्यका साथ आफू भू–तपस्यामा बसेको बताइन् । झापामै पहिलोपटक भएको उक्त स्थानमा भक्तजनहरुको घुइँचो बढेको र दान गर्ने दाताहरुको संख्या समेत बढेको आर्थिक उपसमिति संयोजक रोहिता भट्टराईले जानकारी दिइन् । आगामी चैत १२ गते भू–तस्पस्याबाट निरौला निस्किने भट्टराईले जानकारी दिइन् ।

त्यस्तै शिवसताक्षी–१० माइधारस्थित लक्ष्मीनारायण मन्दिरमा ४६औं ब्रह्मोत्सव शुरु भएको छ । गत चैत ५ गतेदेखि शुरु भएको ब्रह्मोत्सव अन्तर्गत तीर्थस्थान विश्वकसेन पुजन चर्तुब्यूह आह्वान, गरुणध्वज आरोहण, भगवानको सवारी एवम् नवघट स्नान, दिव्यप्रबन्ध पाठ, प्रवचन, तदियाधारण, भजनकिर्तन लगायतका अनुष्ठान भइरहेको लक्ष्मीनारायण मन्दिरका पीठाधीस स्वामी भागवताचार्यले जानकारी दिए ।

त्यस्तै निरौला बन्धु सेवा समाज केन्द्रीय कार्य समिति कोटीहोम झापाको आयोजनामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गत चैत ३ गतेबाट भइरहेको छ ।  संस्थाको ३०औं बार्षिक अनुष्ठान अन्तर्गत सम्पूर्ण पितृहरुको उद्धारको कामना गर्दै रामनवमीको अवसर पारेर शुरु भएको उक्त अनुष्ठान आगामी चैत ११ गते राम नवमीको दिन समापन हुने बताइएको छ । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको प्रमुख कथा वाचन पण्डित दयाराम (डीकप्रसाद) निरौला र पाठपारायण वेदनिधि निरौलाले गरिरहेको निरौला बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष धर्मानन्द निरौलाले जानकारी दिए । उक्त धार्मिक अनुष्ठानमा दैनिक कथाप्रवचन, भजनकीर्तन महात्म्य भइरहेको उनले बताए ।

त्यस्तै अर्जुनधारा–४ भाङबारीस्थित बिन्ध्यावासिनी सिंहदेवी मन्दिरमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ भइरहेको छ । देवी योगमायाको मन्दिरसहित सभाहलको निर्माण गर्ने उद्देश्यले गत चैत ५ गतेबाट शुरु भएको उक्त महायज्ञको प्रमुख कथावाचन आचार्य पुरुषोत्तम बस्याल र पाठपारायण सन्तोष निरौलाले गरिरहेको मन्दिर समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए ।

त्यस्तै झापाको कनकाई नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा भगवती (मनसा देवी) मन्दिरको आयोजनामा श्रीमद् भागवत् महापुराण धनधान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञ गत चैत ३ गतेबाट भइरहेको छ ।

मन्दिरको पूर्वाधार निर्माण र दैनिक पूजापाठका लागि अक्षयकोष खडा गर्ने उद्देश्यले भइरहेको महायज्ञको प्रमुख कथा वाचन भागवताचार्य भागवत भुषण शंकर अधिकारीले गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिए । त्यस्तै, बिर्तामोड नगरपालिका–३ आफन्तटोलस्थित ग्रामकाली मन्दिर संरक्षण तथा टोल विभाग समितिको आयोजनामा श्रीमद् भागवत् नवाह ज्ञान महायज्ञ चैत ४ गते आइतबारबाट भइरहेको छ ।

मन्दिर परिसरमा घेराबारा गर्ने र मन्दिर सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले भइरहेको महायज्ञको प्रमुख कथावाचन धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम र पाठ पारायण ईश्वरीप्रसाद अर्यालले गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रनारायण प्रसाईंले जानकारी दिए ।
त्यस्तै झापाको चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा गणेश पुराण भइरहेको छ । मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्ने, मन्दिर सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले भइरहेको पुराणको प्रमुख कथावाचक आचार्य पं. पारशमणि ढकाल र पाठपारायण आचार्य पं. हेमलाल सापकोटाले गरिरहेको मन्दिर समितिका अध्यक्ष हरिचरण बानियाले जानकारी दिए ।

त्यस्तै बिर्तामोड नगरपालिका–२ राधाकृष्ण टोलस्थित लालीगुराँस राधाकृष्ण सामुदायिक विकास केन्द्रको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।गत चैत ४ गतेबाट मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्न तथा राष्ट्र शान्तिको कामना गर्दै भइरहेको महायज्ञको प्रमुख कथा वाचन पं. दिनानाथ मिश्र र पाठपारायण पं. दीपक मिश्रले गरिरहेको मन्दिर संस्थाका अध्यक्ष कुलप्रसाद ओलीले जानकारी दिए ।

त्यस्तै वशिष्ठ भण्डारी समाजको आयोजनामा श्रीमद् वामन महापुराण भइरहेको छ । संस्थाको १४औं वार्षिक अनुष्ठान अन्तर्गत गत चैत ५ गतेबाट ११ गते रामनवमीको दिन समापन हुने उक्त पुराणको प्रमुख कथावाचन आचार्य पं. छन्दुराम भण्डारीले र पाठपारायण शेखर पौडेलले गरिरहेको समाजका कार्यवाहक अध्यक्ष गेहनाथ भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)