बिर्तामोड।

मादकपदार्थ सेवन गरेर सवारी चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ । तर, पनि अटेरी गर्दै मादकपदार्थ सेवन गर्ने र सवारी चलाउने नौ सय १३ जना चालक कारवाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा नौ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँच र छड्के चेकजाँचका क्रममा कारवाहीमा पर्ने सवारीचालकमध्ये सबैभन्दा बढी मोटरसाइकल चालक नै रहेका छन् । मादकपदार्थ सेवन गर्ने छ सय ९९ जना मोटरसाइकल चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
धमाधम जनचेतना, व्यवहारमा शून्य
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका छन् । विद्यालय स्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।
विद्यालय स्तरबाटै मादकपदार्थ सेवन गरेर सवारी चलाउनु हँुदैन, हेल्मेट नलगाई मोटरसाइकल चलाउनु हुँदैन, मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रुले सवारी गर्नु हुँदैन, सिटवेल्ड बाँधेर मात्र सवारी चलाउनुपर्छ लगायतका ज्ञान प्रदान गरिने गरे पनि व्यवहारमा नउतार्दा दुर्घटनाको जोखिम उस्तै छ ।

चालू आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले तीन हजार तीन सय ९३ विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराएको छ । २३ वटा विभिन्न विद्यालयमा प्रहरीले फरक–फरक मितिमा कार्यक्रम गर्दै चेतना अभिवृद्धि गरे पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन ।
ट्राफिक प्रहरीले सामुदायिक सेवा मार्फत व्यवसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।


