भद्रपुर।

झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर–१०लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यही चैत २२ गते झापालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाले भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर–१०लाई खुल्ला दिसामुक्त वडा घोषणा गरेका थिए ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको नगरपालिकाले पहिलोपटक खुल्ला दिसामुक्त नगरको रुपमा १० नम्बर वडालाई घोषणा गर्न सफल भएका हुन् । साविक चन्द्रगढी गाविस १, २, ६ र ७ हाल भद्रपुर वडा नम्बर १०मा १ हजार ९ सय ९ घरधुरी रहेका छन् । ७ हजार ६ सय ७१ जनसंख्या रहेको यस वडामा जातिय र भाषागत रुपमा मिश्रित बसोबास रहेको छ ।

त्यसमध्ये २०७४ साल असार १ गतेको तथ्यांक अनुसार १ सय ४४ घरधुरी शौचालयविहीन रहेका थिए । युएन ह्याबिट्याट् र भद्रपुर नगरपालिकाको सहकार्यमा सञ्चालित खुल्ला दिसामुक्त अभियानमा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था, सरोकारवाला पक्ष, नागरिक समाजले संयुक्त रुपमा दवाव स्वरुप कार्यक्रम सञ्चालन गरेपछि ५३ घरधुरीमा ल्याउन सफल भएका थिए ।

विपन्न, असहाय तथा अशक्त परिवार रहेका ५३ घरधुरीलाई वडा कार्यालयको पहलमा विभिन्न संघ–संस्थाले उनीहरुलाई शौचालय निर्माण गरेपछि खुल्ला दिसामुक्त वडा घोषणा गर्ने सफल भएको नगरका अभियानकर्ता फणिन्द्र दाहालले जानकारी दिए ।
वडाध्यक्ष टेकबहादुर खड्काको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खुल्ला दिसामुक्त अभियानमा सहयोग पुर्याए वापत विभिन्न टोल विकास संस्थालाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।
त्यस्तै अन्य सामाजिक संघ–संस्था, कर्मचारी लगायतलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपानेले स्वीकृतिपत्र बाचन गरेका थिए ।

