बिर्तामोड।
झापाका विभिन्न नौ स्थानीय तहका बासिन्दाले आफ्ना ठाउँका साझा समस्या औंल्याएका छन् । संवाद समूह झापाको संयोजनमा शनिबार बिर्तामोडमा ‘स्थानीय क्षेत्रका समस्या÷विवाद, सुशासनको अवस्था र तपाईंको सुझाव’ विषयमा गरेको छलफलमा सहभागीले विभिन्न समस्या औंल्याएका छन् ।
कचनकवल, झापा, बुद्धशान्ति गाउँपालिका तथा अर्जुनधारा, कनकाई, दमक, मेचीनगर, गौरादह र शिवसताक्षी नगरपालिकाका युवा तथा महिलाले आफ्ना ठाउँका समस्या समाधानमा गम्भीर बन्न स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
कार्यक्रमका सहभागी युवा तथा महिलाहरुले सुकुम्बासी, विकास निर्माण, नदी कटान, हात्ती आतंक, जग्गा सीमाना विवाद, वातावरण प्रदुषण, महिला हिंसा, यातायात, सिंचाई, वेरोजगारी, स्वास्थ्यजन्य, फोहोरमैला लगायतका समस्याहरु राखेका थिए ।
सुकुम्बासी समस्या समाधानका लागि सुकुम्बासी समस्या समाधान आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुले स्थानीयबासीको सहभागितामा गराएर विकास निर्माणका कार्यहरु अगाडि बढाउनुपर्ने, हात्ती आतंकको समस्या समाधान गर्न, स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट दीगो समाधान खोजिनुपर्ने उनीहरुले सुझाव दिए ।
त्यस्तै, जग्गा सीमाना विवाद समाधानका लागि दुबै पक्षलाई सहभागी गराएर सीमाना विवादको समाधान गर्नुपर्ने, वातावरण प्रदुषण, फोहोरमैला जस्ता समस्याको समाधान वैज्ञानिक ढंगबाट गरिनुपर्ने, जनचेतना अभिवृद्धि गरिनुपर्ने, सिंचाई वातावरण प्रदुषणको समस्या समाधानका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने, महिला हिंसाको समस्या समाधानका लागि जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने, यातायातको समस्या समाधान गर्न सडक सञ्जाल बिस्तार गर्नुपर्ने र वेरोजगारी समस्या समाधान गर्नका लागि स्थानीय तहमै युवालाई स्वरोजगार बनाउन विभिन्न आयमुलक तालिमहरु सञ्चालन गर्नुपर्ने छलफलमा सहभागीहरुले सुझाव राखेका थिए ।
यसरी सुझाव राख्नेहरुमा सुनिता खरेल सिग्देल, जमुना पौडेल, सुष्मा परियार, वेदनिधि भट्टराई, पुष्पप्रसाद भट्टराई, महेन्द्रकुमार तामाङ, श्याम सुवेदी, प्रकाश खड्का, ज्ञानु लामा, रेणुका डाँगी, चन्द्रकला खवास, मनोरथ काफ्ले, सोमी हेमरम, काजीमान पौडेल, पुष्पा प्रसाईं, रुद्र राना मगर, देवीकुमारी घिमिरे, कोशी राई, युवराज खड्का, अम्बिका अधिकारी, धनमाया लोहनी लगायत थिए ।
संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेल र संवाद समूहको महिला समूहकी सदस्य संगीता थापाले छलफलको सहजीकरण गरेका थिए । कार्यक्रममा प्राकृतिक स्रोतका विवाद क्षेत्रमा काम गर्ने उमा थापा, हिमा मगर, गोविन्द थापा लगायतको समेत सहभागिता रहेको थियो ।