Aamsanchar

आफन्त बाटै पिडित भएकी एकल महिलाको घर पुनःनिर्माण

Author Image
आइतवार, चैत ११, २०७४

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


झापा शिवसताक्षी दूधेका २० बढी युवाहरुले एक अशक्त, एकल महिलाको घरमा श्रमदान गरेका छन् । शिवसताक्षी दूधेमा सामाजिक विकासका लागि भनि स्थापना गरिएको शिवसताक्षी युथ क्लबले दूधे बच्चाबरस्थित झरना खोलाको डिलमा अति नै कष्टकर जीवन बिताइरहेकी तुलसामाया विश्वकर्माको घर पुनःनिर्माण गरिदिएको हो ।

घरको छानो नभएको, भएको भित्ता पनि लड्ने अवस्थामा रहेको तुलसामायाको श्रीमानको पनि बिगत ४ वर्षअघि निधन भइसकेको छ भने सन्तानको नाममा विहावरी भएकी एक मात्र छोरीज्वाँईंले वास्ता नगर्ने छिमेकीहरुको कथन छ ।

जीवन यापनका निम्ति बनिबुतो गर्दै आफ्नो जीवन व्यतीत गर्दै आइरहेकी उनको घरमा पुगेर नजरअन्दाज गर्दा मन भक्कानिएर आउँछ । घरमा छानो नभएको, वरिपरी बार समेत भत्केको उनको तथा उनको घरको दयनीय अवस्था देखेर शिवसताक्षी युथ क्लबका सदस्यहरुले ३ घण्टा बढी श्रमदान गरेर बस्नका लागि अस्थायी टहरो निर्माण गरिदिएका हुन् ।

युवा मार्फत समाज रुपान्तरण गर्ने लक्ष्यसहित अघि बढेको उक्त क्लबले सामाजिक कार्य नै मुख्य विषय भएको र दुःख तथा बेहाल भएकी एकल महिलाको मुहारमा हाँसो देख्न पाएकोमा पुनःनिर्माणमा सहभागी युवाहरुले खुसी व्यक्त गरेका छन् ।

बेहाल हुनुमा आफन्तकै हात

विजोगको पराकाष्ट खपेर बसेकी तुलासा यसरी बेहाल हुनुमा आफन्तकै हात छ । दलित आवास निर्माण योजना अन्तर्गत जिम्मेवारी पाएका तुलसाकै भान्जा ज्ञानेन्द्र विश्वकर्माको गैरजिम्मेवारीको कारण यस्तो अवस्था आएको हो । उनी दलित समन्वय समितिका जिल्ला अध्यक्ष हुन् । हुन त उनकै पहलमा शिवसताक्षी ११ मा रमेश दर्जी, मनु भुषाल, विशाल विकको घर निर्माण पूरा भईसकेको छ । तर, तुलसाको घर किन बनेन ? गाउँलेहरुले एकल महिला भएको फाइदा लुट्दै आर्थिक अनियमितताको आशंका व्यक्त गरेर यथासिघ्र घर बनिनु पर्नेमा विगत देखि नै जोड दिदैं आएका छन् ।

नेपाल सरकारको विपन्न दलित आवास निर्माण आयोजना मार्फत छुट्याइएको २ लाख १३ हजार मध्ये दुई किस्ता प्राप्त गरिसकेको ज्ञानेन्द्र विकको भनाई रहेको छ । जसमध्येबाट पहिलो किस्तामा ५३ हजार र दोश्रो किस्तामा ६४ हजार रहेको छ । उनका अनुसार पहिलो किस्ताको रकमले ५० हजार बराबरको फण्डिसन गरिएको हो भने दोश्रो किस्ताको काठपात चिराएर उभ्रिएको रकम आफूसित रहेको बताएका छन् ।

तर, केही गाउँलेले सोही योजनाबाट बनिएको अर्को घर देखाएर सबै रकम प्राप्त गरिसकेको आरोप लगाएका छन् । घर निर्माण कार्यकै लागि भनेर तुलसीमायाको नाममा रहेको केही जग्गा बिक्री गरेको ५० हजार रुपैयाँ मध्ये ५ हजार तुलसीमायालाई दिएर अरु ४५ हजार रुपैयाँ ज्ञानेन्द्रले लगेको नाम नबताउने सर्तमा एक गाउँलेले बताए ।


यस विषयमा ज्ञानेन्द्र भन्छन् – ‘त्यो कुरा तथ्यहीन हो । अन्य घर निर्माण भई सक्यो यसमा किन ढिलासुस्ती भन्ने जिज्ञासामा उनी भन्छन् – ‘त्यो घर २ लाख १३ हजारले मात्र बनेको होइन । लगभग ६ लाखमा निर्माण पूरा भएको हो । जस्ले लगानी लगाउन सक्यो उसले छिट्टो घर बनाउन सक्यो तर, माईजुको घर बनाउन लगानी गर्ने मान्छे थिएन ।’ ज्ञानेन्द्र पुन थप्छन् ः आफन्त पर्खिदा समय लाग्यो, भएका छोरीज्वाँई दोधारे भए, अन्त्यमा अब नहुने रहेछ भन्दै घर निर्माणका लागि शनिबार मात्रै स्टीमेट लागत तयार गरेर ठेक्का प्रक्रियामा गएको छ, कुनै कसुर बाँकी नराखी ७४ सालसम्ममा उक्त घर सम्पन्न गर्नेछौं ।

आवास निर्माणमा प्रयोग हुने केही ढुंगा, केही फलामे रड निर्माण परिसरमा देखिएको छ भने ४ बोरा सिमेन्ट बिग्रिएको अवस्थामा रहेको छ । ज्ञानेन्द्र विकले यसअघि विविध कारण जनाउँदैं आवास निर्माणमा ढिलासुस्ती भएको स्वीकार गर्दै माघ मसान्तसम्ममा जसरी भएपनि आफूले योजनाबाट भुक्तानी पाएको रकम बराबरको दुई कोठे घर निर्माण गरिदिने प्रतिवद्धता समेत जनाएका थिए तर चैत्रको पनि दोस्रो हप्ता बितिसक्दा पनि न त ज्ञानेन्द्रको वचन पूरा भयो न त तुलसीमायाले नयाँ घरमा बस्न पाइन ।

निर्माणाधिन आवासको फाउण्डेसन तथा काठपातले आवास कहिले पूरा हुने हो भन्दै ज्ञानेन्द्रलाई कुरी कुरी गरिरहेको छ भने कहिलेदेखि तुलसीमायाको आवास बनाउन शुरु गरिएको हो भन्ने फोनबाट लिइएको प्रश्नमा ज्ञानेन्द्रले आफू मिटिङमा भएकाले १ घण्टा पछि बताउने बताए ।

यता, ज्ञानेन्द्रलाई आफ्नो माइजूको नारकीय अवस्था देखाउनका लागि भनि शिवसताक्षी युथ कलबका केही युवाहरु ज्ञानेन्द्रको घर गएका थिए तर ज्ञानेन्द्रले अब के जानु, चैत्र मसान्तभित्र जसरी भएपनि घर पूरा गरिदिने, हाल मिस्त्री नभएको जस्ता गैरजिम्मेवारी जवाफ दिएको क्लबका सदस्य मन्दिप मगरले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)