(शान्तिराम बस्नेत)
शिवसताक्षी ।

झापाको शिवसताक्षी १० की विदुषी बृन्दादेवी बराल (निरौला) ले ९ दिन लामो कठोर भू–तपस्या सम्पन्न गरेकी छिन् ।

९ दिनअघि वृन्दा भू–तपस्या गर्न भनि ९ फिट गहिरो खाल्डोमा बसेकी थिइन् । चैत ४ गते साँझ साढे पाँच बजे जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आशीर्बचन दिएपछि विदुषी बरालले भू–तपस्याका लागि पूर्वीद्वारबाट जमिनमुनि गएकी उनले भू तपस्यामा जानु अघि भू तपस्यामा आफुलाई इश्वरीय शक्ति ब्रम्हाण्डीय शक्ति प्राप्त भई तपस्या सफल हुने बताउनुका साथै उनले विज्ञानमा कस्मिक एनर्जीबाट आफूलाई शक्ति प्राप्त हुने भनेकी थिइन् ।

दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष समेत रहेकी वृन्दादेवी सोमबार बिहान साढे ७ बजे दक्षिणी द्वारबाट निस्किएकी हुन् । त्यसपश्चात वृन्दाले आफू बसेको खाडलको एक परिक्रमा गरेर पुराण स्थलमा बिराजमान भइन् । खाडलबाट साढे ७ बजे विहान निस्कने थाहा पाएपछि झापा लगायत देश विदेशका विभिन्न स्थानबाट दर्शनार्थीको आइतबार बेलुकी देखि नै भिड लागेको थियो भने उनी निस्कदा जयजयकारको नारा समेत घन्किएको थियो । उनको दर्शन गर्न भनि आएका दर्शनार्थीहरुको भीडलाई साम्य पार्न प्रहरी तथा स्वंयसेवकहरुलाई धौ धौ परेको थियो ।



यता, तपस्या सुरु भएको दिनबाट नै सो स्थलमा नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायज्ञ लागेको थियो । महायज्ञ आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीका अनुसार छ सय रुपैयाँ तिरेर महायज्ञका सदस्य बनेका भक्तजनलाई भू–तपस्याबाट जागृत भएको रुद्राक्ष माला र माटो भू तपस्वीको हातबाट प्रदान गरिने भएको छ भने धर्मानुरागीले सकेको दान घोषणा गरेका छन् ।
महायज्ञमा संकलित रकमबाट तपस्या स्थलमा कन्या गुरुकुलको स्थापना, निराश्रित महिला तथा अनाथ बालबालिकाको आश्रम, योग साधना सत्संग भवन, राधाकृष्णको मन्दिर निर्माण गरिने पुराण आयोजक समितिले जनाएको छ ।

