Aamsanchar

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

Author Image
बिहिवार, चैत १५, २०७४

काठमाडौँ, 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ ।

वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गर्नुभएको थियो ।

यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राख्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सक्नुभएको छ । संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्ने कार्यक्रम भएकाले काँग्रेस बैठक आजका लागि सम्पन्न भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।

Views: 129

प्रतिक्रिया (०)