शान्तिनगर।

झापाको बुद्धशान्ति गाउँपालिकाको ‘कुकुर बन्ध्याकरण’ शिबिर आयोजना गरिने भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र पशुसेवा शाखा कार्यालय बुधबारेको आयोजनामा चैत २१ गतेदेखि २७ गतेसम्म दुई ठाउँमा ७ दिने शिबिर सञ्चालन गर्न लागिएको हो । चैत २१, २२ र २३ गते बुद्धशान्ति गाउँपालिका कार्यालय परिसर बुधबारे र चैत २५, २६ र २७ गते टिमाई सशस्त्र प्रहरी बेस क्याम्प परिसर शान्तिनगरमा शिबिर सञ्चालन गर्न लागिएको हो ।

सातवटै वडासँग समन्वय गरी गाउँपालिका आसपासका ठाउँहरुबाट भुस्याहा कुकुरहरुलाई समातेर रेबिज बिरुद्धको खोप लगाउँदै बन्ध्याकरण गरिने बताइएको छ । कुकुरको संख्या बढेको र खाना खान नपाएपछि मान्छे र पशु–चौपायमाथि आक्रमण गर्ने प्रबृत्ति बढेका कारण कुकुरको संख्या कम गर्न सो शिबिरको आयोजना गर्न लागिएको पशु सेवा शाखा कार्यालय बुधबारेका पशु प्राबिधिक कैलाश प्रसाद सिंहले जानकारी दिए ।

भुस्याहा कुकुरको बिग्बिगी र तिनीहरुको टोकाइबाट मानिस तथा पशुचौपाय घाइते र रेबिजको शिकार बन्दै गएका छन् । गाउँपालिकाको आर्थिक बर्ष २०७४÷०७५ मार्फत ६ लाख रुपैयाँ बजेट छुट्टिएपछि सो कार्यक्रम गर्न लागिएको हो । दुई स्थानमा गरिने शिबिरबाट करिब २ सय ५० भन्दाबढी कुकुरको बन्ध्याकरण गरिने लक्ष्य राखिएको पशुसेवा शाखा कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७७÷०७८सम्ममा कुकुरको जन्मान्तर शून्यमा झार्ने र कुकुर आतंक कम गर्ने सोच रहेको बताइएको छ । यसअघि जिल्लाको बिर्तामोड, अर्जुनधारा लगायतका स्थानीय तहमा कुकुर बन्ध्याकरण शिबिर सम्पन्न भइसकेको छ ।

