फिदिम :

पाँचथरकाे हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको शुक्रबार दिउँसो निधन भएको छ। उपचारको क्रममा झापातर्फ लैजादै गर्दा इलामको नेपालटारमा पुगेपछि तिम्सिनाको निधन भएको हो।

तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराध सम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको निधन भएको हो।

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दए। चैत ११ गते यक्पाङदेनले तिम्सिनालाई कानमा समातेर घुमाएर अभद्र व्यवहार गरेको बताइएको छ। ६५ वर्षीय तिम्सिना शारीरिक रुपमा निकै कमजोर थिए।

उपचारका लागि लैजादै गर्दा तिम्सिनाको बाटैमा निधन भएपछि यक्पाङदेनकाे खाेजी थप बढाएकाे छ । तिम्सिनाको पाँचथर अस्पतालमा पोस्टमार्टम गरिएको छ। ‘सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता भएको छ,’ प्रहरी नायव उपरीक्षक गौतमले भने, ‘जाहेरवालाको निधन भएकाले अनुसन्धान गरी आरोपितलाई कर्तव्य जान सम्बन्धी मुद्दा चलाउन सकिन्छ।’
तिम्सिनाको एक श्रीमती, दुई जना छोरा र एक बुहारी छन्।-अन्नपूर्णबाट

