Aamsanchar

डाक्टर नबस्दा सेवाग्राही मारमा

Author Image
सोमवार, चैत १९, २०७४

[अमित खम्बू]
अर्जुनधारा।

झापाको अर्जुनधारा–९स्थित प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेको ओपीडीमा डाक्टरहरु नियमित नबस्ने गरेको पाइएको छ ।

सेवाग्राहीहरुको व्यापक गुनासो आएपछि केन्द्रमा आइतबार सञ्चारकर्मीहरुको टोली पुग्दा डाक्टर हुनुपर्ने ओपीडीमा केन्द्रका हेल्थ एसिस्टेन्ट सन्तोष चिमरिया र सिनियर अहेव डम्बरुबल्लभ मिश्रले बिरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका थिए । प्रशासन स्रोतका अनुसार केन्द्रका करारतर्फका डा. कमला आचार्य बिदामा बसेको र कार्यालय प्रमुख समेत रहेका स्थायीतर्फका डा. सुशीलाकुमारी यादव बिना जानकारी अनुपस्थित रहेको पाइयो । नियमअनुसार दुई जनामध्ये एक डाक्टर अनिवार्य रुपमा ओपीडीमा बस्नुपर्नेमा दुवै डाक्टर नहुँदा बिरामीहरु डाक्टरको सेवा लिनबाट बञ्चित हुने गरेको केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईले बताए ।

हाल औसतमा दैनिक दुई सय जना भन्दा बढी सेवाग्राही सेवा लिन पुग्ने सो केन्द्रमा डाक्टर नहुँदा स्वास्थ्य परीक्षणको जिम्मा पनि आफूहरुको काँधमा आइपर्ने हुँदा अत्यन्त गाह्रो भएको सिनियर अहेव मिश्रले बताए । केन्द्र अन्तर्गतको एउटा फाँटको मात्र जिम्मेवारी सम्हाल्नुपर्नेमा ओपीडीमा डाक्टर नबस्दा बिरामी हेर्नेसँगै फार्मेसी, स्टोरलगायत सबैको काम हेर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

त्यसैगरी बिगत वर्षदेखि नै केन्द्रमा आउने डाक्टरहरु नियमितरुपमा ओपीडीमा नबस्ने गरेको एचए चिमरियाले स्वीकारे गरे । ‘डाक्टर नबसेपछि बिरामीहरुले पनि हामीलाई नै खोज्नुपर्ने बाध्यता रहेको छ’– उनले भने । यस विषयमा कार्यालय प्रमुख समेत रहेका डा. यादवसँग सम्पर्क गर्दा उनले आफूलाई अचानक सन्चो नभएको कारण बिदा बसेको बताइन् । नगर प्रमुख, नगर स्वास्थ्य शाखा प्रमुख र केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कसैलाई पनि बिदा बस्ने विषयमा जानकारी नगराएको डा. यादवले केन्द्रमा रहेको आफू मातहतको एक कर्मचारीलाई भने मोबाइलमा एसएमएसमार्फत जानकारी गराएको पाइयो ।

यता सोही विषयमा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवम् अर्जुनधारा–९का वडाध्यक्ष पुष्पकुमार प्रसाईंले आफूहरुले केन्द्रका कर्मचारीहरुलाई पटक–पटक सचेत गराउँदा पनि कर्मचारीहरुले नटेर्ने गरेको गुनासो गरेका छन् । वडाध्यक्ष प्रसाईंले डाक्टरहरुबाट भएको गल्तीलाई स्वीकार्दै आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर