Aamsanchar

उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा प्रधानमन्त्री ओलीको निर्देशनपछि अब पुलिसकै ठूलो दर्जाको जागिर चट् !

Author Image
बिहिवार, चैत २२, २०७४

काठमाण्डौं ।

सरकारले ३३ किलो सुन विवादमा हत्या गरिएका सनम शाक्य प्रकरणमा विशेष अनुसन्धान टोली गठन गरेको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकमा उक्त विषयमा समेत छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ । छलफलको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपी जुनसुकै दर्जा अथवा तहको भए पनि कठोर कारबाही गर्न निर्देशन दिएको बुझिएको छ ।

तस्करीको ३३ किलो सुनसम्बन्धी विवादमा गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसँग प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले दुई हप्ता अगाडि अवकाशको मुखमा रहेका डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिमा समितिमा एसएसपी बसन्त लामा, डीएसपी सुदीपराज पाठक र इन्स्पेक्टर भीष्म हुमागाईंलाई सदस्य तोकिएको थियो । समितिले गरेको प्रारम्भिक अनुसन्धानमा महानगरीय अपराध महाशाखाका उच्च अधिकारीको संलग्नता पुष्टि हुने आधार हुँदाहुँदै अवकाशको मुखमा रहेका डीआईजी रेग्मीले आरोपीमाथि कारबाहीको सिफारिस गर्न आनाकानी गरेपछि सरकारले नयाँ अनुसन्धान टोली गठन गरेको उच्च स्रोत बताउँछ । मंगलबार गठित अनुसन्धान टोलीमा रेग्मीलाई राखिएको छैन । उनी यही चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

“सङ्गठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७०” को “दफा १२” बमोजिम सरकारले मंगलबार गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ। उक्त टोलीमा राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरी रेग्मी, नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सइ सुमन कार्की सदस्य छन् । एसएसपी लामा, डीएसपी पाठक र इन्स्पेक्टर हुमागाईं यस अगाडि प्रहरी मुख्यालयले गठन गरेको छानबिन समितिमा पनि सदस्य थिए ।

अनुसन्धान टोलीले मंगलबारदेखि नै आफ्नो औपचारिक काम शुरु गरिसकेको गृहस्रोत बताउँछ । यस अगाडि गठित समितिले गरेको प्रारम्भिक अनुसन्धानमा अपराध महाशाखाका प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिएपछि एसएसपी दिवेश लोहनी डीएसपी प्रजित केसी र सइ बालकृष्ण सन्जेल र एक प्रहरीलाई बयानको लागि मंगलबार गृह मन्त्रालय बोलाइएको थियो ।

गृह उच्च स्रोतका अनुसार कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेपछि महाशाखाका प्रहरी अधिकारीमाथि छानबिनको लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार एसएसपी लोहनीको बयान लिएको हो । लोहनीसँगै अपरेशनको नेतृत्व गर्ने डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल र प्रहरी जवानको पनि बयान लिइएको खुल्न आएको छ । बयान दिन गृह मन्त्रालय पुगेका एसएसपी लोहनीको समयअभावका कारण मंगलबार बयान हुन सकेन । लोहनीलाई आज (बुधबार) बयानको लागि बोलाइएको अनुसन्धान टोलीका एक सदस्यले बताए ।

‘फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन् नसक्नु र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहँदारहँदै भागेको भनिनुलाई शंकास्पद तरिकाले हेरिएको छ,’ गृहस्रोत भन्छ ।

प्रहरीले उक्त घटनामा बारदातस्थल नै परिवर्तन गर्ने प्रयास गरेको भेटिएको छ । धरानमा बरामद गरेको शवलाई जिल्ला कटाएर विराटनगरमा बरामदी मुचुल्का गरिनु अत्यन्तै शंकास्पद मानिएको छानबिनमा खटिएका अधिकारीहरुको दाबी छ । कानुनतः बारदात स्थल परिवर्तन गर्न र मृतकको शव बरामद भएको स्थलबाट यताउता सार्न पाइँदैन ।

प्रारम्भिक छानबिनको क्रममा एसएसपी लोहनी, अपरेशनमा खटिएका डीएसपी केसी र सइ सञ्जेल र प्रहरी जवान रानालाई जिम्मेवारीबाट हटाउने तयारी गरेको स्रोतको दाबी छ । ‘बहालमा रहदा आफू विरुद्धको प्रमाण नष्ट गर्न सक्ने हुनाले निलम्बन नै गर्ने कि भन्ने बिषयमा पनि छलफल भइरहेको छ । तर अहिले तत्कालै कार्यरत जिम्मेवारीबाट हटाउनको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने अनुसन्धान टोलीको तयारी छ,’ एक सदस्यले नाम नछाप्ने शर्तमा सुशासनलाई भने । अनुसन्धानको क्रममा ‘गोरे’ भनिने चूडामणि रेग्मीले करिब ३ वर्षदेखि तस्करीको सञ्जाल चलाउँदै आएको र उनलाई उच्च पदका कर्मचारी तथा प्रहरीहरुले साथ दिएको खुल्न आएको र उनीहरुमाथि पनि कारबाही तयारी भइरहेको स्रोतले जानकारी दिएको छ शुशासनबाट।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)